२०८१ पौष ११, बिहिवार , ०७:३१:०४ बजे

Sajhamanch
'

पाथीभराको मन्दिरमा ४७ देशका मुद्रा

सोमवार, भदौ ११, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा नेपाल सहित ४७ देशका मुद्रा भेटिएका छन्। पाथीभरा क्षेत्र विकास समितिले आइतबार पत्रकार सम्मेलनमार्फत खर्च कटाएर समितिको खातामा ७ करोड ८८ लाख १० हजार २ सय ५ रुपैयाँ मौज्दात रहेको जनाएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेको उपस्थितिमा समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले खर्च विवरण सार्वजनिक गरेका हुन्।

यो रकम सुन, चाँदी सहितका गरगहना बाहेकको रकम हो। कूल ८ करोड ५९ लाख ९७ हजार १ सय ९४ रुपैयाँ आम्दानी भएकोमा ७१ लाख ८६ हजार ९ सय ८९ रुपैयाँ खर्च भई समितिको खातामा बाँकी रकम मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

आर्थिक वर्ष २०७९/८० को एक बर्षे अवधिमा भेटी र दान बापत मात्रै समितिले ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ आम्दानी भएको जनाएको छ।

कार्यकारी निर्देशक काफ्लेका अनुसार भेटी र दान बापत २ करोड ८५ लाख ६२ हजार ४ सय ९८ रुपैयाँ, सिक्का सहटीबाट ८ लाख १५ हजार ६ सय रुपैयाँ, दाताबाट बैंकमा सोझै जम्मा भएको रकम १४ लाख ५४ हजार ४ सय ३ रुपैयाँ र भेटी बापतको भारु सटही बापत १० लाख ८४ हजार ३ सय रुपैयाँ प्राप्त भएको समितिले जनाएको छ।

समितिको कूल आम्दानीमध्ये ५ करोड ३ लाख १८ हजार ४ सय ८५ रुपैयाँ गत वर्षको बैंक मौज्दात रकम हो। समितिले बैंकमा रहेको रकमको ब्याजबाट मात्र ३७ लाख ६१ हजार ९ सय ८ रुपैयाँ आय भएको जनाएको छ।

समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल बाहेक पाथीभरा मन्दिरमा अमेरिका, साउदी अरब, मलेसिया, कतार, भुटान, कुवेत, हङकङ, कोरिया, दुबई, बेलायत, सिङ्गापुर, बङ्गलादेश, बहराइन, इराक, मालदिभ्स, भियतनाम, फिलिपिन्स, इजरायल, म्यानमार, मकाउ, क्यानडा, ओमान, सुडान, लिबिया, जोर्डन सहितका देशहरुका मुद्रा भेटिएका छन्।

यस्तै पाकिस्तान, स्वीजरल्याण्ड, रोमानिया, चाइना, इन्डोनेसिया सहितका देशका मुद्रा समेत भेटिएको समितिले जनाएको छ। रङ्ग लागेका विदेशी मुद्राको सटही र व्यवस्थापन बाँकी रहेको समेत काफ्लेले जानकारी दिए।

यसरी सटही हुन बाँकी रहेकोमा अमेरिकी डलर देखि अष्ट्रेलिया, साउदी अरब, कतार, दुबई, मलेसियन, लगायतका थुप्रै देशका मुद्रा बाँकी रहेको र मन्दिरमा चढाइएका सटही हुन बाँकी सबै मुद्राको विवरण खाता तयार गरी दुरुस्त गरिएको समेत कार्यकारी निर्देशक काफ्लेले बताए।

तीर्थालु घटे, भेटी र दान रकम बढ्यो

पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को एक बर्षे अवधिमा पाथीभरा मन्दिरमा २ लाख १ हजार ४ सय ४८ तीर्थालु आएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा २ लाख १३ हजार १ सय ८६ जना मन्दिरको दर्शन गर्न आएका थिए। तिर्थालुको संख्या घटे पनि भेटी, दान र दाताबाट संकलन भएको रकममा भने वृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार आव २०७८/७९ मा भेटी, दान र दाताबाट २ करोड ८९ लाख ४१ हजार, १ सय २७ रुपैयाँ आम्दानी भएको थियो।

करिब १२ हजार तिर्थालु कम भएको वर्ष २०७९/८० मा भने भेटी, दान र दाताबाट ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ संकलन भएको छ। आव २०७९र८० मा अन्धशुक्र र बाढीले पाँचथरको हेंवाखोला सहितका स्थानमा भएका मोटरेवल पुल बगाउँदा यो समयमा तीर्थालु कम भएको पाथीभरा क्षेत्र विकास समितिको ठम्याई रहेको छ।

आव २०७८/७९ को सुरुआती महिना साउन र भदौमा कोभिड संक्रमणका कारण तिर्थालु नआएको समेत समितिले जनाएको छ। आयव्यय विवरण सार्वजनिक कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुङ्वा, कर्मचारी नवीन निरौला सहितको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर