२०८१ चैत ३, आइतवार , ०४:२६:५७ बजे

Sajhamanch
'

झापामा सम्झिइयो स्वर्गीय मंगलादेवीलाई

आइतवार, भदौ १०, २०८०

बिर्तामोड । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औं स्मृति दिवस आज विशेष कार्यक्रमको आयोजना गरी झापामा पनि कनाइएको छ ।

महिलाहरुको मुक्ति र अधिकार स्थापनाका लागि महिलाहरुलाई संगठित गर्दै राणा शासन एवं पञ्चायती शासनसत्ताका विरुद्ध आन्दोलनको नेतृत्व गर्ने मंगलादेवी सिंहको २०५३ साल भदौ १० गते निधन भएको थियो ।

स्वर्गीय सिंहको स्मृति दिवसको अवसर पारेर नेपाल महिला संघ झापाले विचार गोष्ठी आयोजना गरेको हो । विचार गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले महिलाहरु शक्तिको खानी भएको बताउँदै समान अधिकार दिएर अघि बढाउन पार्टी नेतृत्वलाई आग्रह गरिन् ।

‘महिला कमजोर छैनन्’ नेतृ ढकालले भनेकी छन् ‘त्यसको उदाहरण मंगला आमा हुनुहुन्छ । प्रतिबन्धित कालमा सम्पन्न परिवार भित्रबाट संघर्ष गर्न सजिलो थिएन, तर उहाँ घर–परिवार, समाजभन्दा माथि उठेर आम महिलाहरुको अधिकारका लागि जुट्नुभयो।’

कार्यक्रमका अर्का नेतृ गोमादेवी भट्टराईले महिलाहरुलाई निर्णायक बैठकहरुमा नराखिने गरेको बताउँदै अझै पनि समाजले महिला नेतृत्वलाई पूर्णरुपले स्वीकार नगरेको धारणा राखेकी थिइन् । प्रत्यक्ष तरिकाले संगठन गर्न नसकिने अवस्थामा मंगलादेवी सिंहले वनभोज, घरायसी भेटघाटजस्ता अप्रत्यक्ष माध्यमबाट महिलाहरुको नेतृत्व गरेको बताइन् ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति देउकुमार थेवेले महिला संघलाई गाउँ नगर, वडासम्म विस्तार गरेर सक्रिय बनाउन आग्रह गरे । महिलाहरुको अधिकारका लागि मंगलादेवी सिंहले उठाएका अधिकारका सवालहरु अहिले पनि पूर्णरुपमा कार्यान्वयन भइनसकेको बताउँदै थेवेले राणा शासनको अन्त्य एवं पञ्चायती शासन ब्यवस्थाका विरुद्ध सिंहले गर्नुभएको योगदान पार्टीका लागि उत्तिकै महत्वपूर्ण भएको धारणा राखेका छन् ।

कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, नेपाल महिला संघ झापाका पूर्व सभापति यज्ञकुमारी सिटौला, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, मिरा खड्का, झापा सचिव कृष्ण हुमगाई, महाधिवेशन प्रतिनिधि टंक विश्वकर्मा, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले मन्तब्य राखेका थिए ।

नेपाल महिला संघ झापाका अध्यक्ष टिकादेवी सिटौला मैनालीको सभापतित्वमा सम्पन्न स्मृति दिवसको औचित्य माथि उनले नै प्रकाश पारेकी थिइन् । कार्यक्रममा सहभागीहरुलाई गीता ओडारी खरेलले शाब्दिक स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव उर्मिला ढकाल पोखरेलले गरेकी थिइन् ।

सम्बन्धित खबर