
कमल । विभिन्न विधाका उत्कृष्ट उद्योगी तथा व्यवसायीलाई सम्मान गर्दै उद्यमशील महिला जागरण केन्द्रको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा कार्यालय रहेको संस्थाले वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको अवसर पारेर विभिन्न उद्योगी तथा व्यवसायीलाई सम्मान गरेको हो ।
संस्थाले विभिन्न समयमा सञ्चालन गरेका सिपमूलक तथा आत्मनिर्भरता तालिमको सदुपयोग गर्दै व्यवसायी बनिरहेका र बन्ने तयारीमा रहेका विभिन्न विधाका उत्कृष्ट ६ जनालाई दोसल्ला ओडाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा ढाका बुनाई तालिमको सिप सिकेर व्यवसायी बन्न सफल कमल ३ की विमला शेर्पा, मूढा बनाउने तालिमको सिप सिकेर घरमै व्यवसायिकरुपमा मुडा व्यवसाय गर्दै आएका कमल १ निवासी बज्रबहादुर कार्की रहेका छन् ।
यस्तै, गुडिया निर्माणको सिप सिकेर व्यवसायिकरुपमा गुडिया निर्माण कार्यलाई निरन्तरता दिइरहेकी मिथिला नगरपालिका ९ ढल्केबर निवासी भागिरथी न्यौपाने कार्की पनि सो कार्यक्रममा सम्मानि भएकी छन् ।
त्यस्तै धार्मिक दृष्टिले अति उपयोगी सरल लागतमा बन्न सक्ने घरमै फुर्सदको समयमा पनि गर्न सकिने परालको जुत्ती निर्माण गर्ने कमल ३ की विष्णुकुमारी भूजेल, माला बुनाई तालिमको सिप सिकेर घरमै व्यवसायिक रुपमा माला निर्माण कार्यलाई निरन्तरता दिइरहेकी कमल २ सिर्जना श्रेष्ठ र ड्राइभिङ्ग सिकेर सफल ट्याक्सी चालक बनेका कमल ६ का दिपक भट्टराईलाई सम्मान गरिएको हो ।
सो कार्यक्रममा मन्तब्य राख्दै कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले संस्थाले गाउँपालिकाबाट प्राप्त गरेको रकमलाई सहीरुपले सदुपयोग गर्दै महिलालाई व्यावसायिक रुपमा अगाडि बढ्न ठूलो सहयोग पुर्याएकोमा प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाको तर्फबाट थप सहयोग गर्ने आश्वासन दिइन् ।
२०७४ सालमा स्थापना भएको संस्थाले समाजका महिलालाई क्षमता अभिबृद्धि सम्बन्धी गोष्ठी, आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिम प्रदान गर्नुका साथै प्राकृतिक पर्यावरणको लागि सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न तालिम सञ्चालन गरेको संस्थाका अध्यक्ष शान्ता उप्रेती दाहालले बताएकी छन् ।
केन्द्रका सहसचिव नन्दाकुमारी सुब्बाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सहभागीहरुलाई कोषाध्यक्ष बेदमाया बाग्लेले शाब्दिक स्वागत गरेकी थिइन् ।