२०८१ पौष ११, बिहिवार , ०९:३१:११ बजे

Sajhamanch
'

फोनिज झापाद्वारा आयोजित २४औं स्थापना दिवसमा गायिका मेलिना राईको ५० हजार सहयोग

बिहिवार, भदौ ७, २०८०

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ । बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा पहिचानका लागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र फोनिज बीचको सहकार्य विषयमा अन्तरसम्वाद समेत गरिएको थियो ।

फोनिज झापाका अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातीय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानको मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष कमन देवानले नेपालमा ३५०० आदिवासी जनजाति पत्रकारहरु फोनिजमा आवद्ध भएको जानकारी गराए । उनले ८ वटा मुलुकमा फोनिजले संगठन बिस्तार गरेको बताए ।

देवानले आदिवासी जनजातिको पहिचान रक्षाको सन्दर्भमा फोनिजले खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए । उनले अहिले भइरहेको पहिचानको आन्दोलनमा फोनिजकर्मीहरुले स्पस्ट रुपमा पहिचानको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै कार्यक्रमका नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले फोनिज र नेफिनबिच विभिन्न अन्तरसंवाद भइरहे पनि आवश्यक समन्वय भने हुन नसकिरहेकोटिप्पणी गरेका थिए । उनले नेफिन फोनिजसँग सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको धारणा राखेका थिए ।

कार्यक्रममा फोनिज (तत्कालिन अनिज) झापाका संस्थापक अध्यक्ष दिपिन राईले कार्यक्रमको विषय तथा उद्देश्य प्रस्ट पारेका थिए । उनले पहिचानका लागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र फोनिजबीचको सहकार्यमा जोड दिदै अबको मार्ग तय गर्नुपर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बिष्णु सुब्बा, फोनिजका प्रदेश सल्लाहाकार अनिलदेव राई, किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, किरात राई यायोख्खा जिल्ला सदस्य गौरीमान राई, फोनिज झापाका पूर्व अध्यक्ष इन्द्रजीत मुखिया, सल्लाहाकार राधा सुब्बा, तमु ह्युल धोज धी बिर्तामोड नगर अध्यक्ष सलबहादुर गुरुङ लगायतले धारणा राखेका थिए ।

फोनिज झापाका जिल्ला कार्य समिति सदस्य सुरेश आले (सर्जु) ले शब्दद्वारा स्वागत गरेको कार्यक्रमको संचालन फोनिजका जिल्ला सचिव तिलक योञ्जनले गरेका थिए ।

२४औं स्थापना दिवसको अवसर पारेर चर्चित गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )झापाको अक्षयकोषका लागि ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । अक्षयकोषका संयोजक गणेशमान मुखियालाई गायिका राईको तर्फबाट संचारकर्मी सजन राईले चेक हस्तनान्तरण गरेकी हुन् ।

फोनिज झापाले आफना अग्रज पत्रकार स्व. डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा गायिका राईले उक्त रकम सहयोग गरेकी हुन् । अक्षयकोषबाट प्राप्त हुने ब्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान पुर्याएवाफत एक जना पत्रकारलाई ‘स्व.डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिदै आएको फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लिम्बुले बताइन् ।

फोनिजले अब उक्त पुरस्कार प्रत्येक दुई वर्षमा वितरण गर्ने निर्णय गरेको समेत उनले जानकारी दिइन् । पुरस्कारको राशीसमेत बृद्धी गर्ने निणर्य भएको अध्यक्ष लिम्बूको भनाई छ । फोनिज झापाले यसअघि प्रत्येक वर्ष २ जना नवदित पत्रकारहरुलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको थियो ।

सम्बन्धित खबर