२०८१ माघ १३, आइतवार , ०२:३१:५७ बजे

Sajhamanch
'

३३औँ वार्षिकोत्सवका अवसरमा विकू सहकारीमा पिओएस मेसिन शुभारम्भ

बुधवार, भदौ ६, २०८०

नवलपरासी । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिनको शुभारम्भ गरेको छ।

उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् । जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिएका छन् ।

संस्थाको ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको हो । सो पिओएस मेसिन वायरलेस वाइफाइ प्रविधिमा आधारित रहेको सिइओ पौडेलले जानकारी दिएका छन् । यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने योजना बनाएको उनको भनाई छ।

३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री जिसीले आफू विकूको सदस्य रहेका कारण संस्थाबारे जानकार पनि रहेको र यो उत्कृष्ट सहकारीका रूपमा रहेको बताए । सक्षम नेतृत्व, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले यो खालको उपलब्धि हासिल गर्न सकेको उनको भनाइ थियो । मन्त्री जिसीले सहकारीका क्षेत्रमा देखिएका समस्यालाई हल गर्दै जाने र सहकारी नियमन एवं नीति निर्माणमा मन्त्रालयको तर्फबाट काम भइरहेको पनि दावी गरेका थिए ।

विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्थाको व्यावसायिक योजनाअनुसार सामाजिक रूपान्तरणका क्षेत्रमा अब विकूले काम गर्ने बताए । यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैमा उनले आभार व्यक्त गरेका छन् ।

विसं २०४८ मा स्थापित विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब एक लाख ३० हजार सदस्यलाई वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गर्दै आएको जनाइएको छ।