काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन् ।
ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् ।
निश्चितले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्द्वी बाजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गर्न सके ।
यसअघि निश्चितले सेमीफाइनलमा मेक्सिकोलाई हराएका थिए । मेक्सिकोले ६.८ अंक जोड्दा निश्चितले ७.४अंक प्राप्त गरेका थिए ।
मंगलबार भएको गर्ल्स थ्री अन थ्री बास्केटबलमा नेपाली टोलीले अंगोलालाई १५.० ले पराजित गर्यो । सो खेलमा नेपालकी आर्या पौडेल सर्वाधिक ५ अंक जोडिन् । आर्यासहित ओजोस्वी श्रेष्ठ, आरुशा शाक्य र संयमी घिमिरेले प्रतिस्पर्धा गरेका थिए।
जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स बास्केटबलमा नेपालले नवौं स्थान हात पारेको छ।
यसैगरी ब्वाइज थ्री अन थ्री वास्केटबलमा नेपाल ‘ए’ले ब्राजिललाई७.६ स्कोरले तथा मेक्सिकोलाई १०.६ ले हरायो । अर्को खेलमा भने कोस्टारिकासँग ९.८ ले पराजित हुनपुग्यो ।
त्यसैगरी ब्वाइज नेपाल ‘बी’ भने ब्राजिलसँग ११. ८ पराजित भयो ।
भदौ १० सम्म सञ्चालन हुने प्रतियोगितामा ४४ राष्ट्रका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालबाट पाँचवटा खेलहरु बक्सिङ, पौडी, तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा २१ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईसी)को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने यो १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो ।