काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् ।
यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन् ।
यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो । सोमबार (हिजो) ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ ।
हाल सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।