काठमाडौं । आज साउने सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ ।
साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।
धर्मशास्त्रका जानकार डा . वासुदेवकृष्ण शास्त्रीका अनुसार साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको घुइँचो लागेको छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ ।
बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।
गतेका हिसाबले आज साउनको अन्तिम सोमबार भए पनि तिथिका हिसाबले साउनका अझै दुई वटा सोमबार बाँकी रहेको धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । ‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार बाँकी नै छन्’, उनले भने ।
उनका अनुसार साउन महिना जनैपूर्णिमाको दिन मात्र सकिन्छ । यस वर्षको जनैपूर्णिमा भदौ ११ गते छ । ‘त्यसैले साउनको अन्तिम सोमबार भदौ ११ गते हो, मलमासका कारण भदौमा पनि साउने सोमबार परे’, उनले भने ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
त्यसअघि भदौ ४ गते नागपञ्चमीको दिन पनि सोमबार परेको छ । नागपञ्चमीको दिन सोमबार पर्नु झनै शुभ मानिने डा.शास्त्री बताउँछन् ।