भद्रपुर । वर्ष २०२३–०२४ का लागि चयन भएको इनरव्हील क्लब अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ ।
शुक्रबार साँझ भद्रपुरमा आयोजित एक समारोहका बीच वर्ष २०२२–२३ का अध्यक्ष कुसुम अधिकारी पराजुलीले वर्ष २०२३–२४ का अध्यक्ष निर्मला निरौला खडकालाई पदभार हस्तान्तरण गरेका हुन् ।
समारोहका प्रमुख अतिथि इनरव्हीलका डिस्ट्रिक्ट चेयरम्यान टुना थापाले पदस्थापन समारोहको उद्घाटनसँगै वर्ष २०२३–२४ का अध्यक्ष खडकालाई शपथ गराएका थिइन् । सो पछि अध्यक्ष खडकाले आफ्नो कार्यसमितिको पदाधिकारी–सदस्यहरूको नाम घोषणासहित शपथ गराएका थिइन् ।
अध्यक्ष खड्काले भाइस प्रेसिडेन्ट प्रमिला ढकाल ओझा, चार्टर प्रेसिडेन्ट कुसुम अधिकारी पराजुली, सेक्रेटरी अमृता हुमागाईँ पराजुली, कोषाध्यक्ष लीना राई श्रेष्ठ, मिडिया इडिटर दिहेन शेर्पा र अन्तर्राष्ट्रिय सेवा आयोजकमा रिता सरावगीलाई चयन गरेकी छन् ।
इनरव्हील क्लब अफ भद्रपुरको नयाँ कार्यकारी सदस्यहरूमा शारदा सुवेदी, आशा उप्रेती पोखरेल र नयाँ सदस्यमा अनिता मानन्धरलाई चयन गरेकी छिन् ।
जिम्मेवारी तोकिएको घोषणा गर्दै अध्यक्ष खडकाले नयाँ कार्यसमितिका सबै पदाधिकारी–सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
नवनिर्वाचित भाइस प्रेसिडेन्ट प्रमिला ढकाल ओझाले सञ्चालन गरेको समारोहमा वर्ष २०२१–२३ का अध्यक्ष पराजुलीले आफ्नो दुई कार्यकालमा भएका सामाजिक गतिविधिका बारे जानकारी गराउँदै बिदाइ मन्तव्य राखेकी थिइन ।
नवनिर्वाचित अध्यक्ष खड्काले आफ्नो कार्यकालमा गरिने सामाजिक गतिविधिका बारे संक्षिप्तमा जानकारी गराउँदै प्रतिवद्धता मन्तव्य राखेकी थिइन् ।
सोही सन्दर्भमा इनरव्हीलकी डा. गीता श्रेष्ठलाई सम्मान गरिएको थियो । मेची बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक श्रेष्ठले पिएचडी गरेकोले उनलाई सम्मान पत्रले सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट चेयरम्यान थापा, विशेष अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नगर उपप्रमुख राधा कार्की, रोटरी क्लब भद्रपुरका अध्यक्ष विनोद चापागाईँ लगायतले मन्तव्य राखेका थिए ।
सेक्रेटरी अमृता हुमागाईँ पराजुलीले कथा वाचन गरेको कार्यक्रममा स्वागत मन्तव्य डा. गीता श्रेष्ठले गरेकी थिइन् ।