२०८१ मंसिर १४, शुक्रवार , ०४:४१:३३ बजे

Sajhamanch
'

कमल गाउँपालिकामा रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी अन्तरक्रिया

आइतवार, साउन २८, २०८०

कमल । कमल गाउँपालिकामा रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी एक दिवसीय अन्तरक्रिया गरिएको छ । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रको आयोजनामा गाउँपालिका भित्र रहेका उद्योगी, व्यवसायी, बजार समितिका प्रतिनिधिहरु बीच अन्तरक्रिया गरिएको हो ।

सो कार्यक्रममा गाउँपालिका भित्र रहेका उद्योग धन्दा कल कारखाना सञ्चालनमा आइपरेका समस्या सुनेर समाधानका उपायहरु सुझाइएको थियो । यस्तै, उद्योगबाट उत्पादित बस्तुको बजारीकरण, स्थानीय उद्योगमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन, सीपमुलक तालिम सञ्चालन र त्यसको प्रभावकारिता लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

सो अवसरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिका भित्र रहेका सबै उद्योगी तथा व्यवसायीलाई करको दायरामा आउन सुझाव दिए । पालिकामा सूचिकृत भएका स्थानीय उद्योगबाट उत्पादित सामग्रीको बजारीकरण गर्न आवश्यक सहयोग गर्ने अध्यक्ष राईले आश्वासन पनि दिएका छन् । स्थानीय युवालाई लक्षित गरी रोजगार सिर्जना गर्ने, आवश्यकताको आधारमा गाउँपालिकाबाट सीपमूलक तालिम सञ्चालन गर्ने उनले योजना सुनाएका छन् ।

रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कमल उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र अधिकारी, केर्खाबजार व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र दाहाल, उद्यमशील महिला जागरण केन्द्रका अध्यक्ष शान्ता उप्रेती दाहाल, ढाका व्यवसायी झुमा संग्रौला, बाह्रघरे बजार व्यवस्थापन समितिका अध्यक्ष विदुर गिरी लगायतले उद्योग सञ्चालन र बजारीकरणमा देखिएका समस्या र त्यसको समाधानका बारेमा सुझावसहित भनाई राखेका थिए ।

कार्यक्रमको सहजीकरण रोजगार संयोजक भरत तिवारीले गरेका थिए ।

सम्बन्धित खबर