काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या साढे नौ हजार पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट ७ सम्म नौ हजार ४११ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका पाँच हजार ४१ जना छन् । १० जिल्लामा मात्र आठ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो अवधिमा नौजनाको मृत्यु भएको महाशाखाले जनाएको छ । यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएको महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले जानकारी दिए ।
विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ । नेपालमा डेंगी १, २, ३, ४ नाम दिइएको छ । फरक–फरक सेरोटाइपसहित डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने उनले बताए ।