२०८१ फागुन ८, बिहिवार , ०९:३६:४८ बजे

Sajhamanch
'

लिम्बुवानको बन्द; यातायात सेवा ठप्प

सोमवार, साउन २२, २०८०

धरान । विसं १८३१ साउन २२ गते जालझेलपूर्ण सन्धि गरेर सार्वभौम लिम्बुवान भूमि नेपालमा गाभेको भन्दै आह्वान गरिएको बन्दले आज यातायात सेवा अवरुद्ध भएको छ।

राष्ट्रिय जनमुक्ति पार्टीको आह्वानमा विगत १४ वर्षदेखि साउन २२ गतेलाई कालो दिन घोषणा गरी लिम्बुवान बन्द हुँदै आएको छ। आज भने उक्त पार्टीसँगै पहिचान पक्षधर संघसंगठनहरुले पनि बन्दमा साथ दिएका छन्।

कोशी प्रदेश नामकरणको विरोधमा अन्य संघसंगठनहरुले पनि साथ दिएको जनमुक्ति पार्टीका युवा नेता विष्णु थाम्देनले बताए। साउन २२ गतेको सन्धिले नै लिम्बुवानको सार्वभौम खोसिएकोले उक्त दिनलाई कालो दिन घोषणा गरिएको पनि उनले बताए।

जनमुक्ति पार्टीले २०६६ सालमा पहिलो पटक साउन २२ गतेलाई कालो दिन घोषणा गरेको थियो। बन्द आह्वानले धरान, इटहरीलगायतका मुख्य सहरको बजार क्षेत्र ठप्प छ भने लामो दुरीको यातायात चलेको छैन। अत्यावश्यक सेवा एम्बुलेन्स, दुधको गाडीलगायत मात्र चलेका छन्।

बन्दकर्ताहरु मुख्य चोकमा बसेर सडकमा अवरोध गरेका छन्। विद्यालयहरु पनि बन्द भएको छ। साँझ ५ बजेसम्म बन्द जारी रहने र कोणसभा आयोजना गरेर बन्द खुलाउने नेता थाम्देनले जानकारी दिए।

सम्बन्धित खबर