बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारका पुराना बासिन्दा, झापाका पूर्व जिल्ला पञ्चायत सभापति शम्भुप्रसाद पोखरेलकी धर्मपत्नी, समाजसेवी उमादेवी पोखरेलको ८१ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ ।
काठमाडौंको नर्भिक अस्पतालमा अघिल्लो महिना उहाँको मुटुको शल्यक्रिया गरिएको थियो । उहाँ स्वास्थ्य लाभ लिइरहनु भएको थियो । तर आज दिउँसो अचानक उहाँले देहत्याग गर्नुभयो’ घटना सुनेर अपरान्ह घर आँगनमा भेला भएका शुभेच्छुकहरुलाई पारिवारका एक सदस्यले जानकारी दिए ।
निरन्तर समाजसेवामा रहनु भएकी उमादेवीका चारजना छोराहरु हुन् । जेठा छोरा ज्ञानेन्द्र पोखरेल कानून व्यवसायी हुन् भने माइला बिनोद पोखरेल निर्माण व्यवसायी हुन् । साईला छोरा स्व. दिपेन्द्र पोखरेल पनि निर्माण व्यवसायी थिए । कान्छा छोरा प्रबिण नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य तथा २ नं. क्षेत्रीय समन्वय समितिका सहसंयोजक हुन् ।
स्वर्गीय उमादेवीको शव अहिले साँझ यति एयरको चार्टर्ड विमानमार्फत काठमाडौबाट ल्याउँदै गरेको र भोलि बिहान १० बजे कनकाई माईमा अन्त्येष्टि गरिने प्रविण पोखरेलले जनाएका छन् ।