२०८१ माघ १४, सोमवार , ०४:४३:४३ बजे

Sajhamanch
'

अभियन्ता थुनाएपछि विवादमा तानिए विराटनगरका मेयर

आइतवार, साउन २१, २०८०

विराटनगर । सामुदायिक विद्यालयमा शैक्षिक स्थिति सुधारको माग राख्दै ब्यानर लिएर प्रदर्शन गर्ने एक अभियन्तालाई थुनाएपछि विराटनगर महानगरपालिका कार्यालय विवादमा तानिएको छ ।

विराटनगरको ग्रोगाहा उच्च माविमा शैक्षिक सुधारको मागसहित महानगरपालिका कार्यालयको प्रवेशद्वारअगाडि ब्यानर बोकेर प्रदर्शन गर्ने विराटनगर–५ निवासी इन्दिरा चापागाईं पक्राउ परेकी हुन् ।

यही साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो । कार्यालयका कार्यवाहक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले महानगरको उजुरीपछि चापागाईंलाई पक्राउ गरी हिरासतमा राखिएको बताए ।

नायकले भने, “अदालतबाट सात दिन म्याद थप भएको छ । थप अनुसन्धान गरी त्यसको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयलाई पठाउने तयारी गरेका छौँ ।”

के हो विवाद ?
सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग गर्दै गएको जेठदेखि चापागाईं महानगरपालिका कार्यालयअगाडि धर्नामा बस्दै आएकी थिइन् । महानगरका मेयर नागेश कोइरालालाई सम्बोधन गरी उनले चार्ट पेपरमा आफ्ना माग लेखेर प्रदर्शन गर्ने गरेकी थिइन् ।

टाउकामा रातो फेटा बाँधेर हातमा राष्ट्रिय झन्डा समेत बोकेर उनी धर्नामा बस्ने गरेकी थिइन् । गोग्राहा उच्च माविमा निजी स्रोतबाट सञ्चालित शिक्षा संकायको कलेजलाई महानगरले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको भन्दै उनले विरोध गर्ने गरेकी हुन् । बजेट फिर्ता गरेर सामुदायिक विद्यालयबाट कलेज हटाउन उनले प्रमुख रूपमा माग गरेकी थिइन् ।

चापागाईं ग्रोगाहा माध्यमिक विद्यालयकी पूर्वसञ्चालक समिति अध्यक्ष पनि हुन् । सामुदायिक विद्यालयमा ‘निजी स्रोतबाट कलेज सञ्चालन गर्दा बढी व्यापारीकरण भएको’ भन्दै उनले विरोध गर्दै आएकी थिइन् । गोग्राहामा पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति लिएर शिक्षा विषय पढाउने कलेज सञ्चालनमा छ । त्यसविरुद्ध उनले धर्ना दिँदै आएकी थिइन् ।

राजनीतिक तथा प्रशासनिक क्षेत्रमा हुने गरेको बेथितिविरुद्ध चापागाईं यसअघि कोसी प्रदेशसभाअगाडि पनि धर्नामा बसेकी थिइन् ।

के भन्छन् मेयर कोइराला ?
मेयर नागेश कोइरालाको निर्देशनमा चापागाईंविरुद्ध उजुरी दिई पक्राउ परेको विषयमा जनस्तरमा समेत विरोध हुन थालेपछि उनले प्रस्टीकरण दिएका छन् । घटनाबारे राखिएको जिज्ञासामा कोइरालाले बाह्रखरीसँग भने, “विरोध गर्न पाउनु मानिसको अधिकार हो, यसको पनि प्रक्रिया हुन्छ । तर, गालीगलौजमा उत्रिएर मानमर्दन गर्ने गरी भयो भने त्यो सह्य हुँदैन । उहाँविरुद्धको मुद्दामा अब के गर्ने भन्ने विषय प्रशासनको हो ।”

चापागाईंको अवरोधका कारण आफू तीन महिनादेखि मुख्यद्वार प्रयोग नगरी भित्री द्वारबाट कार्यालय प्रवेश गर्नुपरेको उनको भनाइ छ ।

“विगत तीन महिनादेखि महानगरको गेटमा अराजक ढंगले चापागाईंले विरोध प्रदर्शन गर्दै आएको, झोलामा बोकेको पेटीकोटले मेयरलाई छोप्न खोज्ने, मेयर चढेको गाडीमा पेटीकोटले हान्ने, लात्तीले हान्ने, सिधै झम्टिने, अशोभनीय शब्द प्रयोग गरी जथाभावी गालीगलौज गर्नुका साथै मेयरलाई मुख्य गेटबाट प्रवेश गर्न अवरोध पुर्‍याएको,” मेयर कोइरालाको सचिवालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेवा प्रवाहलाई नै असर पार्नुका साथै मोबाइलमा समेत गालीगलौजसहितका म्यासेज बारम्बार पठाएपछि चापागाईंलाई पटक–पटक बोलाएर सम्झाउने प्रयत्न गरिएको जनाइएको छ ।

महानगरको दैनिक कार्यसम्पादनमा बाधा पुगेका कारण बाध्य भएर चापागाईंविरुद्ध प्रहरी प्रशासनमा लिखित निवेदन दिएको मेयर कोइरालाको सचिवालयले प्रस्टीकरण दिएको छ ।

सम्बन्धित खबर