२०८१ कार्तिक २, शुक्रवार , ०५:५७:५४ बजे

Sajhamanch
'

माओवादी बैठकमा अधिकांंश केन्द्रीय सदस्यको सुझाव : नेतृत्वबाटै कार्यशैली नबदले ओरालो यात्रा रोकिँदैन

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । माओवादी केन्द्रका बहुसंख्यक केन्द्रीय सदस्यले पार्टीको ओरालो यात्रामाथि ‘ब्रेक’ लगाएर नम्बर वान नयाँ पार्टी बनाउन नीति र नेतृत्वको कार्यशैलीमाथि निर्मम समीक्षाको आवश्यकता औँल्याएका छन् । केन्द्रीय समिति बैठकमा बिहीबार धारणा राखेका बहुसंख्यक केन्द्रीय सदस्यले पुनर्गठित र पुनव्र्यवस्थित गर्दै नयाँ पार्टी बनाउन निर्मम समीक्षाको आवश्यकता औँल्याएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि बिहीबार ५६ केन्द्रीय सदस्यले सुझाव राखेका छन् । बैठकको पहिलो दिन बुधबार १८ केन्द्रीय सदस्यले धारणा राखेका थिए । अध्यक्ष प्रचण्डको आगामी कार्ययोजना समेटिएको राजनीतिक तथा सांगठनिक प्रस्तावको स्पिरिट ठीक भए पनि लक्ष्य पूरा गर्न नेतृत्वबाटै कार्यशैलीमा सुधार हुनुपर्ने अधिकांश केन्द्रीय सदस्यहरूको जोड छ । करिब दुई दशकदेखि निरन्तर सरकारमा सहभागी भए पनि पार्टीले प्राप्त गरेको जनमत र संगठनात्मक अवस्था दुवै कमजोर बन्दै गएको उनीहरूको भनाइ छ । नेतृत्वमा रहेकाले यसको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै धेरैजसो केन्द्रीय सदस्यले नेतृत्वमा रहेकाको कार्यशैलीमाथि आलोचना गरे ।

‘पार्टी पटकपटक सरकारमा गएको छ । अहिले पनि सरकारको नेतृत्व गरिरहेको छ । तर, दिनानुदिन किन कमजोर बन्दै गयो रु अहिलेसम्म सरकारको जिम्मेवारी र नियुक्ति लिएका तथा पार्टीको जिम्मेवारीमा रहेकाबाटै निर्मम आत्मसमीक्षा गरेर जानुपर्छ,’ बैठकमा नेता हितबहादुर तामाङले भने, ‘विगतका कमजोरी नदोहोरिने गरी कार्यशैली सच्याए मात्र पार्टी मजबुत बन्न सक्छ ।’ उनले अध्यक्षको प्रतिवेदनको स्पिरिटअनुसार अगाडि बढ्दा फेरि पनि जनताले चाहेअनुसार एक नम्बरको पार्टी बन्न सक्ने, तर त्यसका लागि अहिले गृह मन्त्रालयले गरेजस्तै राम्रो काम अरू सबै मन्त्रालयको नेतृत्व लिएकाले गर्नुपर्ने जिकिर गरे । ‘सरकारको जिम्मेवारीमा रहेका सबैले राम्रो काम गर्नुपर्‍यो । संघ, प्रदेश वा स्थानीय सरकारमा रहेकाले अध्यक्षको प्रतिवेदनको स्पिरिटअनुसार काम गर्न सके मात्र पार्टीले जनताको मन जित्न सक्छ,’ उनले भने ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले विचार र व्यवहारमा पार्टी लथालिंग अवस्थामा रहेकाले माओवादी निरन्तर ओरालो यात्रातिर देखिएको टिप्पणी गरे । शान्तिपूर्ण प्रतिस्पर्धाका नाममा पार्टी बदनाम भइसकेकाले ओरालो यात्रा रोक्न सच्चिनुबाहेकको अर्को विकल्प नभएको न्यौपानेको भनाइ थियो । अर्का केन्द्रीय सदस्य वाइपी खरेलले प्रधानमन्त्रीको सचिवालयमा व्यापारी र व्यवसायीले निर्वाध पहुँच पाउँदा नेता–कार्यकर्ताले भेटघाटसमेत गर्न नपाएको गुनासो पोखेका थिए । अर्का केन्द्रीय सदस्य दिलीप प्रजापतिले विधान मिच्ने काम अध्यक्षबाटै सुरु भएकाले त्यसलाई सच्याउनुपर्ने भन्दै दोहोरो जिम्मेवारी हटाउनुपर्नेमा जोड दिए ।

बैठकपछि उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले अध्यक्षको राजनीतिक र सांगठनिक प्रस्तावलाई अधिकांशले समर्थन गरे पनि प्रस्तावअनुसार पार्टी निर्माणका लागि व्यवहारमा कार्यशैली रूपान्तरित गर्न सुझाव दिएको बताए । ‘मूल रूपमा सबैजसो केन्द्रीय सदस्यले अध्यक्षको प्रस्तावलाई समर्थन गर्नुभएको छ । तर, प्रस्तावअनुसारको व्यवहार र कार्यशैलीमा एकरूपता देखिनुपर्छ भन्ने सुझाव आएको छ,’ महराले भने ।

केन्द्रीय सदस्य शिवराम यादवले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको बताए । ‘सबैजसोले नेता–कार्यकर्ताको कार्यशैलीमा सुधार आवश्यक रहेको कुरा उठाउनुभएको छ,’ यादवले भने, ‘सचिवालयमा आफन्तलाई होइन, पार्टीमा योगदान दिएका कार्यकर्तालाई नियुक्ति दिनुपर्छ, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने दिशामा अगाडि बढ्नुपर्छ, भ्रष्टाचारविरोधी अभियानलाई अझै सशक्त बनाउनुपर्छ, कुनै दबाब हस्तक्षेप स्वीकार नगरी पार्टीकै नेता–कार्यकर्ता मुछिएको भए पनि कारबाही गरेर बढ्नुपर्छ भन्ने विषय उठेको छ ।’

अर्का केन्द्रीय सदस्य तिलक मल्लले जनतामा आशा जगाउने गरी सरकारले काम गरे पनि त्यसलाई पार्टीले संगठन विस्तारमा उपयोग गर्न नसकेको विषय बैठकमा उठेको बताए । ‘माओवादी नेतृत्वको सरकारले जनतामा जुन आशा जगाएको छ, त्यसलाई व्यवस्थित गर्न नसकेको विषय नै समीक्षाका रूपमा उठेको छ । त्यसकारण आन्तरिक जीवन व्यवस्थित गर्दै जनताको अपेक्षाअनुसारको संगठन निर्माण गर्ने गरी छलफल भइरहेको छ,’ मल्लले भने ।

तस्करीमा माओवादीकै नेता भए पनि कारबाही हुन्छ : श्रेष्ठ

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता–कार्यकर्ता मुछिए पनि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँगको सल्लाहमै भ्रष्टाचारविरुद्धको अभियान अगाडि बढाइएको भन्दै श्रेष्ठले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने बैठकलाई जानकारी गराउँदै श्रेष्ठले प्रमाण भेटिए पार्टीका नेतासमेत कारबाहीमा पर्ने जनाए । ‘सरकारले कोही पनि निर्दोष नफसून्, दोषी नउम्किऊन् भन्ने मान्यताका आधारमा अनुसन्धान जारी राखेको छ । यस्तोमा चाहे जोसुकै हुन्, हाम्रै पार्टीका नेता–कार्यकर्ता नै दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ, सरकारले कारबाही गर्छ,’ श्रेष्ठको भनाइ छ । सरकारले धेरै राम्रा काम गर्दा पनि पार्टी पंक्तिबाट एकीकृत र प्रभावकारी ढंगले प्रचार हुन नसक्दा जनतामा राम्रो काम पनि स्थापित हुन नसकेको भन्दै श्रेष्ठले असन्तुष्टि पनि पोखे ।

बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम अनावश्यक ढंगले मुछिएको भन्दै बुधबार प्रेस विज्ञप्ति र बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रस्टीकरणसहित खण्डन गरेको बताए । ‘बुधबार प्रेस विज्ञप्ति र बिहीबार बिहान स्टाटस राखेर खण्डन गरेको छु, त्यसमा मेरो कुनै संलग्नता छैन । नाम जोड्ने कुरामा राजनीतिक उद्देश्य मात्रै देखिन्छ,’ बैठकमा महराले भने । उनले सिआइबीको अनुसन्धानमा देखाइएको मोबाइल नम्बर आफ्नो नभएको र प्रयोग नगरेको प्रस्टीकरण दिए ।

सम्बन्धित खबर