
काठमाडौं । नेपाल सरकारले असार महिनामा मात्र २ करोड ४० लाख ४९ हजार रुपैयाँ ‘आर्थिक सहायता’का रुपमा वितरण गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार असार २०८० मा सो रकम राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको ५५ लाख २ हजार रुपैयाँसहित हो ।
राष्ट्रपतिको स्वास्थ्य परीक्षणका लागि भारत जाँदा उठेको उक्त रकम मन्त्रिपरिषद्को १२ असारको निर्णय अनुसार अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयका नाममा निकासा गरेको थियो ।
असार महिनामै द्वन्द्वकालका बेपत्ता बर्दियाका बेदप्रसाद पाण्डेको हकदारका नाममा १० लाख रुपैयाँ सहायता दिइएको छ ।
कोशी प्रदेशको नामकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बुको परिवारलाई समेत सरकारले १० लाख रुपैयाँ सहायता दिएको छ ।
असारमा अन्य विभिन्न व्यक्तिका नाममा न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म वितरण भएको छ ।