२०८१ कार्तिक २, शुक्रवार , ०८:१०:३२ बजे

Sajhamanch
'

मेगा बैंकका गार्ड बैंकभित्रै मृत फेला

बुधवार, साउन १७, २०८०

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–७ स्थित नेता चोकमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका गार्ड बैंकभित्रै मृत अवस्थामा फेला परेका छन्।

ग्रामथान–५ घर भएका ४२ वर्षीय पदुमकुमार माझी बैंकभित्रै मृत अवस्थामा फेला परेको मोरङ प्रहरीका सहायक प्रवक्ता प्रहरी निरीक्षक पपु नायकले जानकारी दिए। बैंकमा कार्यरत गार्ड माझी बैंकभित्र बिहान मृत फेला परेका हुन्।

बैंकको माथिल्लो तलाको सिँढीमा सुतिरहेका अवस्थामा बुधबार बिहान मृत अवस्थामा फेला परेको बताउँदै, प्रहरी निरीक्षक नायकले भने, ‘उनको रातिको डिउटी रहेछ। सबै जना काम सकेर गएपछि सबैतिरको ढोका लगाएर माथिल्लो तलामा गएर सुतेका रहेछन्। बिहान डिउटी बद्ली गर्ने क्रममा अर्का साथी आएर बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए।’

त्यहाँ पुगेर हेर्दा माझी सुतेको अवस्थामा मृत फेला परेका हुन्। उनको शरीरको बाहिरी भाग कुनै चोट पटक र अन्य त्यस्तो कुनै शंकास्पद केही पनि नभेटिएको प्रहरी निरीक्षक नायकले बताए। मृतक माझीको शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ।

घटनाको अनुसन्धान सुरु भइसकेको र पोष्टमार्टमको रिर्पोट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित खबर