चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले उप-निर्वाचनमा प्राप्त मत अनुसार ५४ हजार १ सय ७६ बिरुवा रोप्ने घोषणा गरेका छन्।
बुधबार उनले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा सो घोषणा गरेका हुन्। उनले हरेक मतदातालाई यस अभियानमा सहभागी गराउने उद्देश्यले बिरुवा रोप्न लागिएको बताए।
आफ्ना मतदातालाई गरेका बाचा अनुरूप लामिछानेले भरतपुरमा ११ वटा कार्यक्रमको घोषणा गरेका छन्। उनले महिलाहरूलाई लक्षित गर्दै निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन्। ‘ब्लु बस’ नाम राखिएको बस निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न रुटमा चल्नेछ।
त्यस्तै लामिछानेले ६५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेका छन्। मोबाइल क्लिनिक नाम दिइएको एम्बुलेन्स मार्फत स्वास्थ्यकर्मीहरु टोल टोलमा पुग्ने जनाइएको छ।