२०८१ फागुन २२, बिहिवार , ०३:४५:५४ बजे

Sajhamanch
'

ताप्लेजुङका ६ उम्मेदवारले अझै सार्वजनिक गरेनन् निर्वाचन खर्च विवरण

मङ्गलवार, साउन १६, २०८०

ताप्लेजुङ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार भएका ६ जनाले अझै खर्च विवरण सार्वजनिक नगरेको पाइएको छ। खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फका ३ जना उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालयले खर्च विवरण सार्वजनिक गर्न १८ गते बिहीबार सम्मको समय दिएको छ। त्यसको ७ दिन भित्र खर्च विवरण सार्वजनिक गरेको प्रमाणसहितको जानकारी आफुहरुलाई गराउन समेत जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी बिपिन दुलाल (बान्दवराज) ले जानकारी दिए।

उनका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवार भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार कार्की,लोकतान्त्रिक समाजवादी पार्टीका चैतन्यप्रकाश केदेम र स्वतन्त्र उम्मेदवार हरिप्रसाद बरालले चुनावी खर्च विवरण सार्वजनिक नगरेको पाइएको छ । यस्तै प्रदेशसभातर्फ उम्मेदवार भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार सुब्बा निर्वाचन क्षेत्र नं १ (ख),चन्द्रबहादुर थापा निर्वाचन क्षेत्र नं १९क० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भूपेन्द्र मावो निर्वाचन क्षेत्र नं १(क) ले समेत चुनावी खर्च बिबरण सार्वजनिक नगरेको पाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन आयोगले गत बैशाख ६ गते सार्वजनिक सूचना आवह्वान गर्दै चुनावी खर्च बिबरण पेश गरेकाहरुले सो बिबरण सार्वजनिक गर्नुपर्ने बताएको थियो। ताप्लेजुङबाट प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार भएका सबै उम्मेदवारले खर्च बिबरण पेश गरेको तर कतिपयले सो बिबरण सार्वजनिक नगरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले खर्च बिबरण सार्वजनिक नगर्नेहरुलाई बिहीबार सम्मको समयसीमा दिएको छ। उम्मेदवारले सामाजिक सञ्जाल,रेडियो तथा पत्रपत्रिका,आफ्नो पार्टी कार्यालय वा सम्पर्क कार्यालय,वडा कार्यालय सहितका निकायमार्फत खर्च बिबरण सार्वजनिक गर्न सकिने प्रावधान रहेको छ। समयावधि भित्र खर्च बिबरण सार्वजनिक नगर्नेहरुलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३१ को उपदफा (५)बमोजिम पटकैपिच्छे १५ हजार रुपैयाँका दरले जरीवाना हुने समेत जिल्ला निर्वाचन कार्यालयले बताएको छ।

सम्बन्धित खबर