२०८१ पौष ८, सोमवार , ०६:१६:५५ बजे

Sajhamanch
'

९० घण्टा अवरोध भयो नारायणगढ–मुग्लिन सडक, १९ पटक गयो पहिरो

मङ्गलवार, साउन १६, २०८०

काठमाडौँ । संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक यस वर्षको बर्खा सुरु भएयता ९० घण्टा अवरोध भएको छ। बढीमा तीन दिनसम्म पहिरोले गर्दा यो सडक बन्द भएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डको लम्बाई ३५.९ किलोमिटर मात्र छ। तरपनि हरेक वर्षको बर्खामा यहाँबाट यात्रा गर्नेहरूले निकै सास्ती व्यहोर्दै आएका छन्।

सडक विभागका अनुसार यो बर्खा सुरु भएयता यो सडकमा १९ वटा पहिरो गएको छ। गत जेठ २० गतेबाट पहिरो जान सुरु गरेको हो। हरेक वर्ष बर्खा याममा यो सडकमा यात्रुहरूको बिचल्ली हुने गरेको छ। यात्रुहरूले निकै सास्ती व्यहोर्दै आएका छन्। देशभरका राजमार्गमा १३९ पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकमा मात्रै १९ पटक गएको हो।

बढीमा तीन दिनसम्म ट्राफिक अवरोध हुनेगरी पहिरो खसेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए। यसपालि विशेष गरेर तुइन खोला, १८ किलो, मौरी पुलमा नियमितजस्तै पहिरो खसिरहेको उनले जानकारी दिए। यो अवधिमा कालिकाखोलामा सात पटकसम्म पहिरो खसेर सडक अवरुद्ध भएको छ। त्यस्तै तुइन खोलामा पाँच, नाम्सी खोलामा दुई, १८ किलोमा तीन पटकसम्म पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको कार्की बताउँछन्। तीमध्ये नाम्सी खोलामा असार १४, १५ र १६ गते लगातार पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

यो सडकमा दैनिक १२ हजार ठुला गाडी ओहोरदोहोर गर्छन्। अघिल्लो वर्ष मौरी खोलामा पहिरो जाँदा ६६ घण्टासम्म सडक अवरुद्ध भएको थियो। ट्राफिक सहज बनाउन एक साता लागेको थियो।

सम्बन्धित खबर