२०८१ कार्तिक २, शुक्रवार , ०७:११:२१ बजे

Sajhamanch
'

फिफा महिला विश्वकपमा मोरोक्कोको ऐतिहासिक जित

आइतवार, साउन १४, २०८०

काठमाडौं । फिफा महिला विश्वकपमा मोरोक्को दक्षिण कोरियाविरुद्ध १–० को ऐतिहासिक जित निकालेको छ ।

आइतबार समूह ‘एच’अन्तर्गत अस्ट्रेलियाको हिन्डमार्स रंगशालामा भएको खेलमा मोरोक्कोलाई जित दिलाउन इबाटिसाम जराइदीले निर्णायक गोल गरिन् । फिफा महिला विश्वकपको इतिहासमा मोरोक्कोले निकालेको यो पहिलो जित हो ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको मोरोक्को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मोरोक्कोले प्रतियोगिताको अन्तिम–१६ मा पुग्ने सम्भावनालाई कायम राखेको छ । मोरोक्को यसअघि पहिलो खेलमा भने इंग्ल्यान्डसँग ६–० ले पराजित भएको थियो ।

मोरोक्कोसँगको हारले फिफा वरीयताको १७औं स्थानमा रहेको दक्षिण कोरिया भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । तालिकाको पुछारमा रहेको दक्षिण कोरियाले दुई खेल खेल्दा पनि अंक जोड्न सकेको छैन ।

दक्षिण कोरिया यसअघि पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको थियो । अब दक्षिण कोरियाले अन्तिम खेलमा जर्मनीसँग बिहीबार खेल्नेछ ।

सोही दिन मोरोक्कोले पनि कोलम्बियासँग समूह चरणको आफ्नो अन्तिम खेल खेल्नेछ । समूह ‘एच’को शीर्ष स्थानमा जर्मनी र कोलम्बिया छन् ।

सम्बन्धित खबर