भद्रपुर । हरेक वर्ष उपभोक्ताको उपभोग्य दर बढिरहेको हुन्छ । त्यही रफ्तारमा बजारमा सामग्री आयात पनि भइरहेको हुन्छ । तर राजश्व संकलनको अवस्था ठीक विपरित दौडने गरेको तथ्याङ्कले राजश्व संकलन प्रकृयामा चुहावटको आशंका जन्मनु आश्चर्य ठहर्दैन ।
भारतको पश्चिम बंगाल र विहारसँग सीमा जोडिएको भद्रपुरस्थित भन्सार कार्यालय राजश्व संकलनमा हरेक वर्ष तल झर्न थालेको हो । छोटी भन्सारका रूपमा रहँदा ३२ करोडसम्म वार्षिक राजश्व संकलन गरेको भद्रपुर भन्सारले आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा दश करोडमा सिमित हुनु परेको छ ।
बंगलादेशका कपडाजन्य उत्पादनसमेत यही बाटोबाट नेपाल भित्रने भद्रपुर भन्सारले अघिल्लो वर्ष १३ करोड राजश्व संकलन गरेकोमा यसवर्ष पाएको लक्ष्य समेत छुन सकेन ।
भद्रपुर भन्सार कार्यालयका प्रमुख अमित तिवारी भने राजश्व घट्नुमा कोरोनाले ल्याएको मन्दी मूल कारण भन्दै बचाउ गर्छन् । तर स्थानीय व्यापारीको भनाई मान्ने हो भने भन्सार राजश्व चुहावटमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्मको सिण्डिकेट मूल कारण हो ।
दशकयता भद्रपुर नाकाबाट भित्रने कुनै पनि सामग्री घटेका छैनन् तर राजश्वमा दर्ता हुने क्रम एक तिहाइ मात्र रहेको आयात निर्यातमा संलग्न व्यापारीहरू स्वीकार गर्छन् । उनीहरूका अनुसार यस नाकाबाट भित्रने कपडा धरान, इटहरीदेखि काठमाडौसम्मका ठूला व्यापारीले लैजाने दर विगत कै हाराहारीमा छ । भन्सार राजश्वमा यसको देन निकै रहनु पर्ने हो तर वास्तविकता त्यस्तो छैन ।
केही कार्यालय सहयोगी तथा कम्प्युटरमा बस्ने कर्मचारी वर्षौंदेखि भन्सारमा निरन्तर कार्यरत रहेका कारण २ वर्षमा फेरिने अधिकृतसँग व्यापारीको मिलिभगत गराएर राजश्व कम तिरेर सामान कटाउने विचौलियाको भूमिकामा उनीहरू रहने गरेको व्यापारी कै भनाई छ । सो नाकाबाट मेसीनरी पार्टपूर्जा, कपडा, रासायनिक विषादी, चप्पल जुत्ता, कृषि उपकरणका पार्ट, सूर्ति लगायत आयत हुने गरेको छ ।
पछिल्लो समय राजश्व बढी संकलन हुने सूर्ति तथा मेसीनरी पार्टपूर्जाबाट कम परिणाममा बैध बाटोबाट आउँदा राजश्व संकलनको परिणाम हरेक वर्ष घटिरहेको कर्मचारीहरूकै स्वीकारोक्ति छ ।
चोरी तस्करी नियन्त्रणका लागि परिचालित पुलिस प्रशासन तस्करको सेटिङमा अलमलिरहँदा मातहतका छोटी भन्सार नाकाहरू राजश्व छल्ने प्रमुख केन्द्र बन्न थालेका हुन् । मेची भन्सारको कार्यक्षेत्र भित्र पर्ने इलामको पशुपति नगर, झापाका नकलबन्दा, सतीघट्टा, गौरीगञ्ज लगायतबाट वारपार व्यापार फष्टाइरहेका छन् । भद्रपुर भन्सार अनर्तगतका केचना, घेराबारी, पिण्डालबारी, टागनडुब्बा लगायत नाका राजश्व छलीका लागि सहज बन्ने गरेका छन् । भद्रपुर भन्सारमा विभिन्न बाहना बनाएर कर्मचारीले ठूला व्यापारी मैत्री काम गर्ने गरेको साना व्यापारीहरूको दुखेसो छ ।
उनीहरूका अनुसार प्रहरी प्रशासन कै मिलिभगतमा राजश्व छल्ने काम हुने गरेको छ । नयाँ हाकिमहरूमा नयाँपन हुँदासम्म चोरी तस्करीमा कडाइजस्तो हुन्छ तर पुरानोपन प्रवेशपछि सहज वातावरण बन्ने व्यापारीहरूको स्पष्ट भनाई छ । साधा पोशाकमा छोडिएका घुमुवा प्रहरी तस्करको सेटिङ मिलाउने काममा व्यस्त हुँदा भन्सार तिर्नेभन्दा छल्ने व्यापारीको संख्या बृद्धि भइरहेको जनाइन्छ । /
भन्सार कर्मचारी भने भन्सारमा सामान नआएर लक्ष्य पूरा नभएको दाबी गर्छन् तर स्थानीय व्यापारी, प्रहरी र भन्सार कर्मचारी कै मिलिभगतमा भन्सार घटी काटिने प्रवृत्तिले राजश्व संकलन प्रभावित भइरहेको प्रष्ट छ ।
यस्तै पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७/७८ मा १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको भन्सार कार्यालयको विवरणले देखाउँछ ।
आव २०७८/७९ को तुलनामा आव २०७९÷८० मा तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार राजस्व कम सङ्कलन भएको देखाउने विवरणले पनि चुहावटकै संकेत गरिरहेको छ ।
पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व सङ्कलनमा असर परेको भन्सारको प्रष्टिकरण रहेको छ । कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको समेत जनाइएको छ ।