
पोखरा । कास्कीको माछापुच्छेमा क्यानोइङ गर्ने क्रममा एक युवतीको मृत्यु भएको छ। कास्कीको माछापुच्छे गाउँपालिका–९ घलेलस्थित पोखरा क्यानोइङमा क्यानोइङ गर्ने क्रममा पोखरा महानगरपालिका–२६ कन्दनीडाँडास्थित थुमकोडाँडा पुख्र्यौली घर भएकी २२ वर्षीया अञ्जिता भण्डारीको ज्यान गएको हो। क्यानोईङ गर्न जाने क्रममा चिप्लिएर लड्दा भण्डारीको ज्यान गएको सञ्चालकले बताएको छ। तर पीडित परिवारले भने क्यानोइङ गर्नेबेला लगाउने बेल्टको हुक नलगाई धकेलिदिँदा अञ्जिताको मृत्यु भएको दाबी गरेको छ।
अमेरिकाबाट दुई हप्ता अघिमात्र पुख्र्यौली घर आएकी अञ्जिता दिदी र भाइसँग बुधबार घलेलस्थित पोखरा क्यानोइङमा पुगेकी थिइन्। सुरुमा दिदीले क्यानोइङ गरिसकेपछि अञ्जिता र उनको भाइ आशिष क्यानोइङका लागि तयार भएका थिए। भाइ आशिषभन्दा अगाडि क्यानोइङ गर्न पुगेकी अञ्जितालाई क्यानोइङ गर्ने क्रममा लगाउने डोरीको हुक नलगाई धकेलिदिँदा मृत्यु भएको परिवारको आरोप छ।
पीडित परिवारका छिमेकी विश्व अधिकारीले हुक लगाउन बिर्सिदा घटना घटेको भनेर पीडितका भाइ आशिष भण्डारीले बताएको जानकारी दिएका छन्। आशिषलाई उद्धृत गर्दै उनले भने, ‘ठूली दिदीले गरिसकेपछि सानी दिदी र म क्यानोइङ गर्न बसेका थियौं। मैलेभन्दा अगाडि सानी दिदीले क्यानोइङ गर्ने कुरा भयो। त्यसलगत्तै डोरी लगाएर सानी दिदीलाई धकेलिदियो तर डोरीको हुक लगाएको रहेनछ। दिदी सिधै करीब ५० मिटर तल बजारिनुभयो। हुक नलगाई सिधै तल बजारिएको भाइले देख्दा कस्तो भयो होला रु,’ अधिकारीले भने।
क्यानोइङ साहसिक खेल हो। जसलाई जोखिमयुक्त खेलका रूपमा लिइन्छ। मनोरञ्जनात्मक खेलका रूपमा लिइने क्यानोइङमा करिब ४५ मिटर माथिबाट डोरीको सहायतामा पहराबाट झर्दै झरनाको आनन्द लिने गरिन्छ। डोरी बाँध्नुअघि नै लडेमा वा बीचमा डोरीको तालमेल मिलाउन नजानेमा वा हुक लगाउन बिर्सेमा यो जोखिमपूर्ण हुने पोखरा क्यानोइङका सञ्चालक राम गुरुङ बताउँछन्।
बुधबार अचानक चिप्लिएर लड्दा अञ्जिताको मृत्यु भएको सञ्चालक गुरुङको दाबी छ। ‘घटना हुने समयमा घटनास्थलमा म थिइनँ तर घटना हेर्दा युवती डोरी बाँध्नुअघि नै अचानक चिप्लिएर लडेको देखिन्छ। त्यही भएर मानवीय क्षति हुन पुग्यो,’ उनले भने। डोरी बाँध्नुअघि नै लडेकाले उद्धारमा कठीनाइ भएको उनको दाबी छ। उनले भने, ‘डोरी लगाएपछि घटना भएको भए उद्धार गर्न सम्भव हुन्थ्यो। चिप्लिएर लड्नुमा मानवीय कमजोरी हुनसक्छ तर अनुसन्धान भइरहेकाले यसबारे थप भन्न सक्दिन।’
घटनापछि पीडित परिवारले क्यानोइङका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिने बताएका छन्। तर प्रहरीले कर्मचारीविरुद्ध मात्र जाहेरी हाल्न दबाब दिएको पीडित परिवारले गुनासो गरेका छन्। सञ्चालक गुरुङ वडाध्यक्ष पनि भएकाले दबाब र प्रभावमा परेर प्रहरीले सञ्चालकविरुद्ध जाहेरी हाल्न नदिएको छिमेकी अधिकारीले बताए।
यसैबीच, प्रहरीले पोखरा क्यानोइङमा काम गर्ने ३ जना कर्मचारीलाई पक्राउ गरेको छ। अनुसन्धानका लागि कर्मचारीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डिएसपी० श्रवणकुमार विकले बताए। ‘करिब ४५ मिटर उचाइबाट खसेको भनिएको छ,’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं। अनुसन्धानले नै बाँकी कुरा प्रष्ट पार्ला।’ मृतक भण्डारी पुख्र्यौली घर पोखरा–२६ कन्दनीडाँडास्थित थुमकोडाँडा घर भई अमेरिकाको बाल्टिमोर बस्दै आएका तीर्थ भण्डारीकी कान्छी छोरी हुन्।
अमेरिकामै इञ्जिनियरिङ विषयमा स्नातक गरेकी अञ्जिता दिदी र भाइसँग पुख्र्यौली थलो घुम्न एक महिनाअघि मात्र नेपाल आएकी थिइन्। नेपाल आएपछि आफन्त भेटघाटमा व्यस्त रहेका उनीहरूले हालसालै माथिल्लो मुस्ताङ घुमेर फर्किएका थिए। लगत्तै क्यानोइङ गर्न पुगेका बेला घटना भएको छिमेकी अधिकारीले जानकारी दिए।