२०८१ पौष ७, आइतवार , ०५:४१:४२ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय खाद्य कार्यक्रमको नक्कली कार्यालय खडा गरी ठगी

मङ्गलवार, साउन ९, २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम (डब्लुएफपी) नेपालको नक्कली कार्यालय खडा गरी ठगीमा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नपा–९ का ४७ वर्षीय जयराम केसी भनिने घनश्याम कटुवाल र मकवानपुुर बागमती गापा–९ का ४० वर्षीय दिनेश भनिने लीलाबहादुर भोलोन रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । उनीहरूले ठगी गर्ने उद्देश्यले बुढानीलकण्ठस्थित विष्णुबहादुर गुरुङको दुईतले घर भाडामा लिई कार्यालय खोलेका थिए । उनीहरूले कार्यालयमा महँगा कार्पेट तथा फर्निचर प्रयोग गरी भव्य बनाएका थिए ।

कार्यालयको ढोकामा उपसचिव जयराम केसी, कार्यालय सञ्चालक तथा शाखा अधिकृत पेम्बा तामाङ, जनसम्पर्क अधिकृत आकाश राई र प्राविधिक इन्जिनियर दीपेश गुरुङ उल्लिखित ‘नेम प्लेट’ झुन्ड्याइएका थिए । सोही नाम र दर्जामा नेपाल सरकारको लोगोअंकित कार्ड पनि बनाएका थिए । कार्ड झुन्ड्याइएको फितामा पनि नेपाल सरकारको लोगो र झन्डा अंकित गरिएका थिए ।

उनीहरूको पोसाकसमेत नेपाल सरकारकै कर्मचारीको जस्तो डिजाइन गरेका थिए । र, आफूलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको कर्मचारी बताउँथे । उनीहरूले डब्लुएफपीको लोगो र लेटर हेड पनि नक्कली बनाएका थिए । सोही लोगो र लेटर हेड प्रयोग गरी उनीहरूले गत ६ असारमा विभिन्न खाद्यान्न खरिद गर्न भन्दै ६ करोड रुपैयाँ मूल्यबराबरको टेन्डर आह्वान गरेका थिए ।

कार्यालयका लागि कम्प्युटर, फर्निचर, कार्पेट, कपी, कलम, प्रिन्टरलगायत सामग्री आवश्यक परेको भन्दै अर्को पनि टेन्डर निकालेका थिए । जसमध्ये केही कम्पनीलाई छनोट गरेको र उनीहरूबाट लाखौँ रुपैयाँ मूल्यबराबरको सामग्री उधारोमा उठाएका थिए । पटक–पटकको पहलपछि पनि उधारोमा उठाएको सामानको पैसा नउठेपछि पीडितहरूले कार्यालयविरुद्ध प्रहरीलाई खबर गरेका थिए । जब प्रहरीले पीडितको गुनासो अध्ययन गर्न थाल्यो, त्यसपछि मात्रै उक्त कार्यालय नक्कली रहेको खुलेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की भन्छन्–

डब्लुएफपीको नक्कली कार्यालय खडा गरी ठगी गरेको सूचनापछि दुईजनालाई पक्राउ गरिएको छ । उनीहरूले आफूलाई नेपाल सरकारको कर्मचारी दाबी गर्दै हिँडेको पाएका छौँ । सोहीअनुसार कार्यालयको डेकुरेसनसमेत गरेका रहेछन् । कार्डदेखि पोसाकसम्म नक्कली बनाएर ६ करोड रुपैयाँभन्दा धेरै मूल्यको टेन्डर निकालेका रहेछन् । उनीहरूले उधारोमा लाखौँ रुपैयाँको सामग्री उठाएका रहेछन् । अन्य फरारको पनि खोजी भइरहेको छ ।

सरकारी कर्मचारीको जस्तै पोसाक
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले डब्लुएफपीको नक्कली कार्यालय खडा गरी ठगी कार्यमा संलग्न केही अभियुक्त पक्राउ परेको बताए । उनले भने, ‘ठगी गर्ने उद्देश्यले यिनीहरूले डब्लुएफपीको नक्कली कार्यालय खोले । आफूलाई नेपाल सरकारको कर्मचारी भएको बताउँथे । सोहीअनुसार कार्यालयको डेकुरेसन गरेका रहेछन् । कार्डदेखि पोसाकसम्म नक्कली बनाएर ६ करोड रुपैयाँभन्दा धेरै मूल्यको टेन्डर निकाले । उनीहरूले कम्पनी पनि छनोट गरे र उधारोमा लाखौँ रुपैयाँको सामग्री उठाए । घटनमा संलग्नमध्ये दुईजना पक्राउ परेका छन् । अन्य फरार छन् । खोजी जारी छ ।’

प्रहरीका अनुसार उनीहरूले कार्यालयका लागि शंकर अर्यालसँग स्कर्पियो गाडी भाडामा लिएका थिए । यसबापत उनीहरूले अर्याललाई ६ लाख १२ हजार पाँच सय रुपैयाँ तिर्न बाँकी छ । उनीहरूले हालसम्म घरभाडा पनि बुझाएका छैनन् । ४८ लाख रुपैयाँको टेन्डर स्वीकृतपछि उनीहरूले हरिप्रसाद अर्यालसँग आठ लाख ३६ हजार नौ सय रुपैयाँको डेस्कटप, ल्यापटप लिएका थिए । उक्त रकम पनि उनीहरूले भुक्तानी गरेका छैनन् ।

त्यस्तै, कार्यालय प्रयोजनका लागि भन्दै उनीहरूले नवराज पाण्डेसँग ८५ हजार रुपैयाँको स्टेसनरी सामग्री लिएका थिए । उक्त सामानको पनि रकम तिरेको छैन । कार्यालय सजावटका लागि आवश्यक सबै सामग्री उनीहरूले दीपेन्द्र धरेलसँग लिएका थिए । त्यसबापतको १५ लाख ६० हजार तीन सय चार रुपैयाँ अझै भुक्तानी हुन सकेको छैन ।

पोसाकको कपडा र खाद्यान्न टेन्डरको धरौटीबापत उनीहरूले गणेश शाहलाई ११ लाख २७ हजार नौ सय ५० रुपैयाँ जम्मा गर्न लगाएका थिए । उक्त रकम पनि उनीहरूले नै लिएका थिए । कार्यालय प्रयोजनका लागि विष्णु अर्यालसँग अर्को कार लिएका थिए । त्यसको पनि भाडा तिर्न बाँकी छ ।

जेलबाट छुटेको चार महिनामै अर्को ठगी धन्दा
घटनाको अनुसन्धानमा संलग्न प्रहरीवृत्त महाराजगन्जका प्रमुख डिएसपी अंगुर जिसीले घटनामा संलग्नमध्येका कटुवालले यसअघि पनि आफूलाई नेपाल प्रहरीको पूर्वआइजी, पूर्वसचिव, पूर्वसिडिओ, पूर्वउपसचिव भनेर लाखौँ रुपैयाँ ठगी गर्दै आएको बताए ।

उनले भने, ‘घटनाको ‘मास्टर माइन्ड’ जयराम केसी भनिने घनश्याम कटुवाल हुन् । उनले विगतमा पनि आफूलाई नेपाल प्रहरीको पूर्वआइजी, पूर्वसचिव, पूर्वसिडिओ, पूर्व पसचिव भनेर लाखौँ ठगी गर्दै आएको देखिन्छ । ठगी अभियोगमै धेरैपटक जेल परेको देखिन्छ । जेलबाट छुटेको चार महिनापछि ठगी गर्ने उद्देश्यले पछिल्लो घटना डिजाइन गरेको जस्तो देखिन्छ ।’

सम्बन्धित खबर