२०८१ पौष ११, बिहिवार , ०६:१५:४८ बजे

Sajhamanch
'

नेपाली सिनेमा चलाएर आफ्नो हल सञ्चालनमा ल्याउँदै दीपक–दीपा

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा आउने भनिए पनि उक्त मितिबाट सञ्चालन हुन सकेन ।

साउन १ गतेबाट नियमित रूपमा हल सञ्चालन गर्ने तयारी रहे पनि हलको केही काम बाँकी रहेकाले केही समयपछि धकेलिएको दीपक बताउँछन् ।

अब भदौको दोस्रो साताबाट यो सिनेमा हल सञ्चालनमा आउने उनले जानकारी दिए । “हाम्रो उद्देश्य नेपाली सिनेमा लगाएर हल सञ्चालन सुरु गरौँ भन्नेछ । सुरुमै हिन्दी सिनेमा लगाएर हलको ओपनिङ गर्नेभन्दा पनि नेपाली सिनेमा लगाएर नै हल सञ्चालन गर्ने योजना छ,” दीपक भन्छन्, “सम्भवत एैँचो पैँचो रिलिज गरेर हाम्रो हल सञ्चालन सुरु हुन्छ । त्यसको अर्को साताबाट हिन्दी सिनेमा जवान रिलिज हुनेछ ।” ‘एैँचो पैँचो’ भदौ १४ गतेबाट रिलिज हुँदै छ । ‘जवान’ भदौ २१ गते रिलिज हुँदै छ । हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्नेछ ।

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायत समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।

दीपक–दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा–४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेको थिएन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।

नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हल महलको माथिल्लो दुई तलामा निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहेका छन् । करिब १० करोड निर्माण लागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मासहति ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभाव रिमालको कम्पनीको लगानी रहेको छ ।

सम्बन्धित खबर