काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हौँ भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ।
नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ परेका हुन्। उनीहरूले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरूसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी ठगी गरेको खुलेको छ। पीडितलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरूले ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ। यसरी रकम ठगी गरी उनीहरूले पीडितको ना४च ८६७० नम्बरको स्कारपियो गाडीसमेत लिएर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएर जिल्ला प्रहरीको अनुरोधमा पक्राउ गरिएको उनले बताए। उनीहरुलाई कारबाहीका लागि आइतबार नै इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको छ।