काठमाडौं । गत पुसमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले अहिलेसम्म पनि पुरस्कार रकम नपाएको गुनासो गरेको छ ।
क्यानले लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । सेभेन थ्री स्पोर्टसले लिग विजेतालाई ५५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । उपविजेताले ३० लाख, तेस्रोले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ पाउने भनिएको थियो । तर विजेता टिमले यो पुरस्कार रकम पाउन सकेका छैनन् ।
लिगमा फिक्सिङको आरोप लागेपछि सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया प्रतियोगिता चलिरहँदा बीचमै भारत भागेका थिए । सेभेन थ्रीले नदिए आफूले पुरस्कार र पारिश्रमिक दिने प्रतिबद्धता नेपाल क्रिकेट संघ क्यानले गरेको थियो र प्रतियोगिता सम्पन्न भएको थियो ।
तर प्रतियोगिताको ८ महिना हुँदा पनि पुरस्कार रकम पाउन नसकेको टिम र खेलाडीको गुनासो छ । पुरस्कार कहिलेसम्म पाउने पनि कुनै टुंगो नभएको लुम्बिनीका मालिकमध्येका एक उत्सव सिग्देलले बताए । उनले भने, ‘हामीले क्यानबाट केही पनि प्रतिक्रिया पाएका छैनौं ।’
प्रतियोगितामा विदेशी खेलाडी पनि थिए । तर श्रम स्वीकृतिको प्रक्रियामात्र सुरु गरेर हतार हतार विदेशी खेलाडीलाई प्रतियोगितामा खेलाइएको थियो । तर उनीहरुको श्रम स्वीकृत भएन । त्यसैले प्रतियोगितामा सहभागी विदेशी खेलाडीलाई पारिश्रमिक दिन सकिएको छैन ।
‘हामीलाई विदेशी खेलाडीले फोन गरेर बारम्बार सोध्छन्, हाम्रो श्रम स्विकृति आएन रु हामीले कहिले भुक्तानी पाउने रु’ ८ जना विदेशी खेलाडी खेलाउने लुम्बिनीका मालिक सिग्देलले कुराकानीमा भने ।
लुम्बिनीसहित, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएको तर श्रम स्वीकृतरी नभएकाले विदेशी खेलाडीलाई दिन नसकिएको बताएका छन् । काठमाडौं नाइट्स र फारवेष्ट युनाइटेडले नेपाली खेलाडीलाई नै ५० प्रतिशत पारिश्रमिक दिन बाँकी छ ।
दीर्घकालीन रुपमा क्रिकेट खेल्ने भनेर ९ करोड रुपैयाँ खर्च गरेर टिम बनाएको भन्दै लुम्बिनीले प्रतियोगिताको दोस्रो संस्करणा हुने नहुने निश्चित नभएकाले पनि अन्यौल बढेको बताएको छ ।
‘हामीले क्यानबाट खोजेको तीन प्रश्नको उत्तर हो, खेलाडीले श्रम स्वीकृति कहिले पाउने, हाम्रो पुरस्कार रकम कहिले पाउने र अब लिगको भविष्य के हो रु यत्तिको उत्तर हामीलाई क्यानबाट चाहिएको हो’, सिग्देलले भने ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द सम्झौता अनुरुप जतिनसँग पुरस्कार रकमको कुरा अघि बढिरहेको बताउँछन् । ‘हामी जतिनसँग सम्पर्कमा छौं । जति सक्दो छिटो पुरस्कार रकम उहाँबाट आउनेबित्तिकै हामीले लुम्बिनीलाई पनि दिनेछौं, तर समय यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था भने छैन’, चन्दले आइतबार भने ।
पहिलो संस्करणमा बाधा व्यवधान आइपरेको बताउँदै उनले लिगको आगामी संस्करण निरन्तर रुपमा सञ्चालन हुने दाबी गरे । ‘लिगको आगामी संस्करण हुन्छ । यो कुरामा निश्चित रहनु होला’, चन्दले बताए ।
प्रतियोगितामा विराटनगर सुपस किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो तथा काठमाडौं नाइट्स चौथो भएका थिए ।