भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ ।
उनले मूर्तिकलाका लागि लगनशीलता र मेहनतलाई घटाएका छैनन् तर आफ्नो व्यवसायमा बाह्य अतिक्रमण बढेका कारण आफूले बनाएका मूर्ति नबिकेका कारण आर्थिक संकटको सामना गर्नु परिरहेको हो ।
अभिषेक मूर्ति उद्योगका नाममा वैधानिक रूपमा सञ्चालन गरेको उनको उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रिने मूर्तिले नराम्ररी प्रभावित गरिरहेको छ । अवैधरूमा भारतबाट आउने मूर्ति नरोक्ने हो भने आफूजस्ता नेपाली माटोमा गरिखानेहरू भोकै मर्नुपर्ने दिन आइसकेको उनले गुनासो गरेका छन् ।
मूर्ति उत्पादनमा चर्चित उनको उद्योगको मेचीदेखि महाकालीसम्म पहिचान बनाएर फैलिएको थियो । अहिले सम्झँदा उनलाई आफ्नो व्यवसाय बनावटी कथाजस्तो लाग्न थालेको छ । पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका राजवंशी हिन्दू परम्पराका विशेष गरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देवी पूजाका लागि मूर्ति निर्माणमा सक्रिय हुने गरेका छन् ।
विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति बनाउन व्यस्त रहने उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन । उनको मूर्तिकला हिन्दू संस्कृतिका विभिन्न पर्वहरुमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बन्न सफल छ । दुई जना छोरा छोरीलाई स्तरीय शिक्षा दिने, घर परिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो ।
माटोसँगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसँगै साट्दै भगवान शिव, पार्वती, काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवती लगायतका विभिन्न देवी देवताका र अन्य जुनसुकै प्रकारका मूर्ति वनाउने गर्दछन ।
मूर्ति बेचेरै घरपरिवार चलाउनुका साथै समाजिक सेवामा समेत सहयोग र लगानी गर्न पछि नपर्ने कलाकार राजवंशी स्वदेशी श्रम र माटोको माया गर्ने समाज सेवा र शुसासनका लागि पहरेदारी गरिरहेका सामाजिक अगुवा पनि हुन् । उनले समाज विचलनमा फस्ने कारणका रूपमा भ्रष्टचार रहेको ठहर गर्दै भद्रपुर नगरलाई भ्रष्टचार शून्य नगरका रूपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशनविहीन सेवा अभियानसमेत चलाइरहेका छन् ।
पछिल्लो पटक सघन शहरी विकास कार्यक्रम अन्र्तगत भद्रपुर नगरमा भइरहेको सडक चौडा तथा स्तरीकरणको काम कमिशनमा चल्दा गुणस्तरहिन भइरहेको आवाज उठाउने राजवंशी सामान्य लेखपढ मात्र गरेका व्यक्ति हुन् । उनी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् । राजनीतिमा शुद्घिकरण अनिवार्य रहेको अनुभव सुनाउने राजवंशी लोकतन्त्रमा अशल शासक रहनु जरुरी ठान्छन् ।
पैसा र पहुँचमा राज्य अलमल भएसम्म लोकतान्त्रिक गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने बताउने राजवंशी इमान्दार र लगनशील कार्यले पेशामा सफलता मिल्ने जनाउछन् । चारजनाको परिवार धानेर पनि समाजमा केही देन दिन उनको मूर्तिकलाको आय सफल भइरहेको उनको भनाई छ । नेपाली माटोलाई माया गर्ने राजवंशी मूर्तिकलाका उदाहरण भएर भद्रपुर नगरको आदिवासी क्षेत्र महेशपुरमा रमाइरहेका छन् ।
राजनीतिमा समेत सचेत राजवंशी पछिल्लो समय अघोषित रुपमा राजनीतिक पीडित भएको गुनासो गर्छन् । उनले आफ्नै पार्टी भित्रका स्वार्थी लोभीहरुको सिकार हुनु परेकोले राजनीतिमा पछाडि परेको अनुभव सुनाएका छन् । राजवंशी आफूसित रहेको कला अन्यमा पनि हस्तान्तरण गर्न तत्पर भए पनि मूर्तिकला सिक्न कोही नआएको सुनाउँछन् ।