२०८१ पौष २१, आइतवार , ०७:१९:१२ बजे

Sajhamanch
'

दमकमा कुकुर दर्ता अभियान सुरुहुँदै

आइतवार, साउन ७, २०८०

दमक । नगरपालिका क्षेत्र भित्र छाडा कुकुरको बिगबिगी बढेपछि दमक नगरपालिकाले कुकुर दर्ता अभियान थालेको छ । छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो । नगरपालिकाले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको दर्ता अनिवार्य गर्ने नीति लिएको जनाइएको छ ।

नगरपालिकाको हालै सम्पन्न १३औं नगरसभाले घरपालुवा कुकर पालन व्यवसायलाई थप व्यवस्थित गर्न अनिवार्य रुपमा कुकुर सूचिकृत गर्ने निर्णय गरेको नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिएकी हुन् । उनका अनुसार अव कार्यविधि बनाएर कुकुर दर्ता सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ ।

कुकुर दर्तासँगै रेविज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान सञ्चालन गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिने कार्यमा सहज हुने उपप्रमुख भट्टराईको भनाई छ ।

नगरपालिकाले पशुसेवा शाखाको समन्वयमा दमकमा १० वटै वडा तहमा घरपालुवा कुकुरको दर्ता गर्ने व्यवस्था गरिने पशु सेवा शाखाका अधिकृत गणेशबहादुर प्रधानले बताए । घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि तयार गरी यस कार्यक्रमलाई कार्यान्वयन गरिने उनले बताए । सो कार्यक्रमले कुकुर पालन थप व्यवस्थित हुने शाखा अधिकृत प्रधानको भनाई छ ।

उनका अनुसार घरपालुवा कुकुर सूचिकृत गरिएसँगै कुकुरको संख्या, जात, रेविज खोप वितरण, औषधी र कुकुर मरेमा त्यसको व्यवस्थापन गर्न सघाउ पुर्याउनेछ । दमकमा ठूलो संख्यामा घरपालुवा कुकुर रहेको अनुमान छ ।