
धरान । धरानमा मन्दिरको सामुन्ने चर्च निर्माण गरिएपछि उब्जिएको विवादमा मेयर हर्क साम्पाङ पनि तानिएका छन्। सामाजिक सञ्जालमा मेयर साम्पाङलाई ख्रिष्टियन भएको र अनुमति, नक्सा पास नगरि चर्च बनाउन दिएको भन्दै निरन्तर आलोचना भएपछि धर्मबारे उनले पनि मर्यादा विपरीत विवादित अभिव्यक्ति दिएका छन्। निरन्तर टिकाटिप्पणी र आरोपहरु आउन थालेपछि मेयर साम्पाङले आफ्नो फेसबुक पेज हर्क साम्पाङ अ रिभोलुसनबाट आफ्नो बचाउ गर्दै पदीय मर्यादा विपरीत जातिय र धार्मिक बिषयमा टिप्पणी तथा अभिव्यक्ति पनि दिएका छन्।
धरान वडा नं १४ स्थित विजयपुरमा गोपाल मन्दिरको सामुन्ने चर्च बनेको छ। निजी जग्गामा बनेको उक्त चर्च निर्माण गर्न अनुमति वा नक्सा पासको प्रक्रिया पुरा भएको छैन। शुरुमा पार्टी प्यालेस बनाउने भनिएको र निर्माण सकेपछि चर्चकोरुपमा प्रयोग भएको भन्दै विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिको भनाई छ।
यो विवाद चर्कदै गएपछि मेयर साम्पाङले दुवै पक्षलाई छलफलमा बोलाए पनि सहमति जुट्न सकेको थिएन। लगत्तै मन्दिर पक्षले विवादित धर्मगुरु आचार्य श्रीनिवासलाई धरान बोलाएको थियो। आफैलाई गोली हान्न लगाएर पक्राउसमेत परिसकेका श्रीनिवासले चर्च भत्काउनुपर्ने अभिव्यक्ति दिए भने मेयर साम्पाङ ख्रिष्टियन भएको आरोप लगाए। उनको अभिव्यक्ति सामाजिक सञ्जालमा आएपछि मेयर साम्पाङ र उनका समर्थकहरु थप भड्किएका थिए। यद्यपी, मेयर साम्पाङले दुवै पक्षसँगको छलफलमा र श्रीनिवासको अभिव्यक्तिपछि पनि आफु धर्मको बिषयमा नबोल्ने धारणा राख्दै आएका थिए। उनले दुवै पक्षलाई मिल्न सुझाव दिदै विवाद निरुपणको लागि अदालतमा जाने बाटो खुला रहेको पनि बताएका थिए।
सामाजिक सञ्जालमा मेयर साम्पाङले तिहारमा लक्ष्मीपुजा गर्नुभन्दा श्रम गर्नु भनेर गरेको पोष्ट र क्रिसमसमा आफ्नै कार्यकक्षमा ख्रिष्टियन समुदायसँग केक काटेको तस्बिर भाइरल छ। यस्तै, उनले चर्चमा बोलेको भिडियोको क्लिप पनि फेसबुकमा सार्वजनिक भएको छ। उनका विरोधी तथा आलोचकहरुले मेयर साम्पाङ ख्रिष्टियन भएकोले मन्दिर अघि चर्च बनाउन दिएको भन्दै निरन्तर अलोचना गरिरहेका छन्। मेयर साम्पाङले आफ्नो बचाउ गर्दै आफुले पिण्डेश्वरमा पानी चढाएको, हेभन्ली पाथको गुरुसँग बसेको फोटो, भिडियो पनि पोष्ट गर्नु भनेका छन्।
यस्तै, उनले पदीय मर्यादा भुलेर यो विवादलाई साम्प्रदायिक लेपन पनि लगाउन खोजेका छन्। उनले फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘साह्रै धेरै निहुँ खोजे अर्कै कुरा आउँछ है। आदिमबासी मुलबासीहरुसँग निहुँ नखोजेको राम्रो । यो भन्दा बढी बोलिन।’ यस्तै, अर्को पोष्ट गर्दै नमस्कार पनि हिन्दुको सम्बोधन भएकोले अबदेखि सेवा भनुँ त ? भन्ने प्रश्न गरेका छन्।