२०८१ मंसिर १०, सोमवार , ०१:५८:४१ बजे

Sajhamanch
'

जंगली हात्तीको वितण्डाबाट १२ वर्षमा झापामा ६२ ले ज्यान गुमाए, १६ वटा हात्ती पनि मरे

बिहिवार, साउन ४, २०८०

झापा । बितेको आर्थिक वर्ष २०७९/८० मा मानव हात्ती द्वन्द्वका क्रममा आठजना मानिस र दुईवटा हात्तीले ज्यान गुमाएका छन् । दुई गैर नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् । यसैबीचमा दुईवटा हात्ती पनि मरेको पाइएको थियो । गैर नेपालीमा एकजना भुटानी र एकजना भारतीय रहेको वन कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी, सहायक वन अधिकृत अञ्जना पुरीका अनुसार झापामा हात्तीको आक्रमणबाट वितेका आर्थिक वर्षहरु २०७८/०७९ मा पाँचजना, २०७७/७८ मा तीनजना, २०७६/७७ मा दुईजना, २०७५/०७६ मा एकजना र २०७४/०७५ मा पाँच जनाको मृत्यु भएको थियो । पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी झापामा ६२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये आठ जना गैर नेपाली रहेको जनाइएको छ ।

मृत्यु हुने मानिसमा अधिकांश किसान मजदुर वर्गका रहेका छन् । जसले आफ्नै घर–खेतमा हात्तीेले आक्रमण परेर ज्यान गुमाउनु परेको पाइएको छ । हात्तीका कारण ज्यान गुमाउने गैर नेपालीले राहत रकम पाउने व्यवस्था छैन भने नेपाली नागरिकले राहत रकम पाउने गरेका छन् । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी तथा सहायक वन अधिकृत पुरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरेअनुसार सो अवधिमा १६ वटा हात्तीसमेत मरेको पाइएको थियो ।

कार्यालयको विवरण अनुसार बाह्रदशी गाउँपालिका वडा नं. २ का देवीबहादुर अधिकारी आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा हात्तीे आक्रमणको शिकार बने । त्यस्तै, बाह्रदशी– १ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्न जाँदैगर्दा हात्तीको आक्रमणमा परे । शिवसताक्षी नगरपालिका– ११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ ।

यस्तै, बुद्धशान्ति गाउँपालिका– ४ का भीमबहादुर भट्टराईको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति– ५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदैगर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हल्दीबारी गाउँपालिका–२ चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा परेका थिए । दमक–३ का कमैया राई (गैरनेपाली)लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । अर्का गैर नेपालीलाई मेचीनगरको धुलाबारी बजार उत्तरमा हात्ती आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो ।

झापामा गत आर्थिक वर्षमा ५१४ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएको क्षतिपूर्तिवापत उनीहरुले एक करोड ११ लाख ३६ हजार ७०३ रूपैया राहत प्राप्त गरेका हुन् । सरकारले मृतकका लागि ५० लाख, घाइतेको उपचारका लागि नौ लाख १८ हजार २२५, चौपाया र अन्नबालीमा क्षति वापत ५२ लाख १९ हजार ४७५ रूपैयाँ राहत रकम उपलब्ध गराइएको जनाइएको छ ।

सम्बन्धित खबर