भक्तपुर । भक्तपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३० वर्षीय अर्जेस बस्नेत रहेका छन्।
उनलाई काठमाडौँ टोखास्थित नव उपकार नेपाल संस्थाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी सहायक निरीक्षक माधवकुमार अधिकारीसहितको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई हाल वृत्त ठिमीमा राखिएको छ।
प्रहरीका अनुसार २०७९ फागुन २७ गते अन्दाजी साढे १० बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका-२ अनन्तलिंगेश्वरस्थित राजेन्द्र यादवको घरमा डेरा गरी बस्ने मोरङ उर्लाबारी नगरपालिका-४ स्थायी घर भएकी ५५ वर्षीय उषा थापा बस्नेत बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई छिमेकीले बेहोस अवस्थामा फेला पारेका थिए।
त्यसपश्चात् उनलाई तत्काल उपचारको लागी आरोग्य अस्पताल चारदोबाटो लगिएको थियो। थप उपचारको लागी सोही वर्ष फागुन ३० गते काभ्रे साँगास्थित स्पाईनल ईन्जुरी अस्पतालमा थेरापी गराइएको र २०८० जेठ २९ गते पुन: थप उपचारको लागी शिर मेमरीयल अस्पताल बनेपा रिफर गरिएको थियो।
उपचारको क्रममा जेठ २९ गतेको दिन अन्दाजी नौ बजेर ४८ मिनेटमा उनको मृत्यु भएको थियो। घटना सम्बन्धमा मृतकका छोरा वर्ष २८ को प्रवेश बस्नेतले असार १७ गते निजको सहोदर दाजु ३० वर्षीय अर्जेस बस्नेतलाई प्रतिवादी बनाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा वृत्त ठिमीमा किटानी जाहेरी दिएका थिए।
सोही आधारमा प्रतिवादी अर्जेस बस्नेतलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।