कमल । याक्थुङ लिम्बू जातिको मुन्धुम अनुसार मौलिक पहिचान बोकेको रक्षाकवचको प्रतिक “सिलाम् साक्मा”को एक कार्यक्रमका बीच कमल गाउँपालिका वडा नं. ३ केर्खामा स्थापना गरिएको छ ।
मंगलबार विधिवत स्थापना गरिएको सिलाम् साक्माको किरात याक्थुमका केन्द्रीय सदस्य चन्द्रकला लिम्बूले अनावरण गरेकी हुन् । किरात याक्थुमको मुन्धुम अनुसार पृथ्वीतल माथि मुख्य नौ देवलोकहरु भएकाले देवताको थान वा आराधनास्थाल नौ तला, सात तला बनाई पूजा अर्चना गर्ने परम्परा प्रचलित छ ।
देवलोकमा पृथ्वीलोक, आत्मालोक, आकाशलोक, न्यायलोक, सत्यलोक, उज्ज्वललोक, तपलोक, पवित्रलोक र बैकुण्ठलोक रहेको विश्वास गरिन्छ । लिम्बू समुदायले जन्मदेखि मृत्युसम्म तिनै नौलोकका आधारमा संस्कार मनाउने परम्परा रहेको संस्कृतिविदहरुको कथन छ ।
यिनै नौग्रहको पूजा गर्ने विधि विधानलाई एकमुष्टमा ‘सिलाम् साक्मा’ नामले चिन्ने गरिएको किरात याक्थुम चुम्लुङका प्रमुख सल्लाकार सूर्यप्रसाद लिम्बूले बताएका छन् । सिलाम् साक्मा भएको स्थानमा कुनै पनि गलत काम हुँदैन भन्ने जनविश्वाससमेत रहेको सल्लाहकार लिम्बूको भनाई छ ।
सिलाम् साक्मा निर्माण समितिका अध्यक्ष गोपाल साम्राको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुम चुम्लुङका गाउँदेखि केन्द्रसम्मका दुई दर्जनभन्दा बढी नेताहरुको उपस्थिति थियो ।