भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुर परिसरको १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ ।
भद्रपुर ८ नम्वर वडा कार्यालयले सरोकारवालासँगको छलफल पछि अस्पतालको सुरक्षाका लागि कानूनमा उल्लेखित प्रावधान कार्यान्वयन गर्दै सुर्तीजन्य तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।
वडा कार्यालयले अस्पताल वरिपरिका पसललाई बेचबिखन बन्द गर्न भदौ १ गतेसम्म अन्तिम म्यादसमेत दिएको छ । साउन मसान्तभित्र त्यहाँ बिक्रीका लागि राखिएका त्यस्ता वस्तुहरुको स्टक खाली गरिसक्नु पर्ने गरी वडाले सूचना जारी गरेको हो ।
‘अस्पताल वरिपरि सुर्तीजन्य तथा मदिरा बेचबिखन गर्न नपाउने कानून छ’ वडाध्यक्ष मनोज सुब्बाले भने– ‘कानून कार्यान्वयन गर्दै सरोकारवाला सबैलाई नियमको पालना गर्न आग्रह गरेका छौं । तर, बेचबिखनमा त्यहाँका व्यवसायीहरूले अटेर गरे जरिवानासम्म गर्न बाध्य हुने गरी वडा कार्यालय अगाडि बढेको छ ।’
प्रादेशिक अस्पताल भद्रपुरको १०० मिटर वरपर एक दर्जनभन्दा बढी पसलमा मदिरा र अधिकांश पसलमा गुट्खा तथा चुरोट बिक्री हुने गरेको छ ।
वर्षौ अगाडि ल्याइएको कानून अनुसार सार्वजनिक सरोकारका स्थल, विद्यालय, मठ मन्दिर तथा अस्पतालको १०० मिटर वरपर सुर्तीजन्य तथा मदिरा बिक्री वितरण गर्न पूर्णरूपमा बन्देज लगाइएको छ । तर पनि सरोकारवाला सरकारी निकाय कै बेवास्ताले कानून मिचेर मदिरा तथा सुर्तीजन्य पदार्थको खुलेआम व्यापार भइरहेको हो ।