२०८१ माघ १०, बिहिवार , ११:४२:५३ बजे

Sajhamanch
'

विद्युतीय चुरोटभित्र सुन ल्याएको प्रकरणमा ५ जना थुनामा

बुधवार, साउन ३, २०८०

काठमाडौँ । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन गैरकानुनी बेचबिखनमा संलग्न पाँच जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । यस प्रकरणमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसमेत जोडिएका छन् । उनीमाथि पनि प्रहरी अनुसन्धान जारी छ ।

न्यायाधीश दीपक ढकालको इजलासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुन लाग्दा जफत भएको सुन बेचबिखन गर्ने गिरोहका सदस्यहरूलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न सोमबार आदेश दिएको हो । अदालतको आदेशले ३९ वर्षीय भारतीय नागरिक साहेब राव पान्डुरङ मरग, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, कागेश्वरी मनोहराका ३२ वर्षीय दिनेश बस्नेत र पोखरा गैह्रापाटनका २२ वर्षीय निर्मलकुमार विक थुनामा पठाइएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले प्रकरणमा जोडिन आइपुगेका महरा तथा अन्य केही पहुँचवालामाथि अनुसन्धान थालेको छ । ‘को–को कसरी संलग्न छन् भन्ने सबै पुष्टि हुनै बाँकी छ,’ सीआईबीका एसएसपी दिनेश आचार्यले भने, ‘अनुसन्धान गरिरहेका छौं ।’

दुबईबाट २०७९ पुस १० मा आउँदा चिनियाँ नागरिक ली हानसङले विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन भन्सारले जफत गरेको थियो । प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठका अनुसार लीको लगेजमा ७३ बट्टामा ७ सय ३० थान भेप भेटिएपछि जफत गरिएको थियो । तर त्यसमा सुन छ भन्ने थाहा नभएको बयान श्रेष्ठले प्रहरीमा दिएका छन् । विमानस्थल भन्सारमा सामान जफत भएको केही दिनपछि नै चिनियाँ नागरिक लीले नेपाल छाडेको देखिएको छ । उनीसँग महरालगायत क–कसको साँठगाँठ र सम्बन्ध थियो भन्ने अनुसन्धानको पाटो बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

जफत भएको भेप भन्सार कार्यालयमा राखिएका बेला राहुल महराले श्रेष्ठलाई फोन गरेर लिलामी गर्नेबारेमा जिज्ञासा राखेका थिए । श्रेष्ठले प्रहरीमा दिएको बयानअनुसार त्यसअघि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले राजस्व लिएर भेपलाई ‘जाँचपास गरिदिनुपर्‍यो’ भनेका थिए । ‘निजलाई मैले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ,’ उनले भनेका छन्, ‘भोलिपल्ट आफूलाई श्यामसुन्दर साह भनी चिनाउने व्यक्ति आएर त्यही अनुरोध गरे ।’ साहलाई पनि उही जवाफ दिएर फर्काएको केही क्षणमै महराले मोबाइलबाट फोन गरी ‘जफत भएको इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया के हो ?’ भनी सोधेका थिए ।

‘मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइन्छ र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ,’ श्रेष्ठको बयानमा छ । बयानमा भनिएको छ, ‘लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ ।’

महरालाई पन्छाएपछि आफूले गत माघ २९ मा विद्युतीय चुरोट थप कानुनी कारबाहीका लागि मुद्दा शाखामा पठाएको र त्यसपछि के कसो भयो भन्ने आफूलाई थाहा नभएको उनको जवाफ छ । विद्युतीय चुरोटभित्र सुन रहेको पत्तो पाएपछि भन्सारका कर्मचारीले मिलेमतोमा बेचिदिएका थिए । यो सुराक पाएपछि भन्सार कार्यालयले सीआईबीलाई गत वैशाख २६ मा पत्र लेखी अनुसन्धान गर्न आग्रह गरेको थियो ।

प्रहरीले अनुसन्धान गरेर ९ जनाविरुद्ध मुद्दा दायर हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । त्यसैका आधारमा जिल्ला न्यायाधिवक्ता वासुदेव शर्माले असार २७ मा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । अभियुक्तहरूविरुद्ध मूलुकी फौजदारी संहिताको दफा २५२ अनुसार आपराधिक विश्वासघात गरेको कसुर र संगठित अपराध निवारण ऐनअनुसारको कसुरमा सजाय हुनुपर्ने अभियोगपत्रमा जिकिर छ । आपराधिक विश्वासघातको कसुरमा पाँच वर्षसम्म कैद हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ । यो कसुर ठहर भए यसबाट हुने सजायको आधा थप सजाय संगठित अपराधको कसुरमा हुने कानुनी व्यवस्था छ । दोषी ठहरिए अभियुक्तहरूलाई बढीमा साढे सात वर्षसम्म सजाय हुन सक्छ ।

प्रहरीले ६ जनालाई पक्राउ गरेकामा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं शान्तिनगर बस्ने अमृत कार्कीलाई भने अदालतले तारिखमा छाड्न आदेश दिएको छ । सुन तस्करी प्रकरणमा जोडिएका दीपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने फरार छन् । ‘यो मुद्दामा महराको छोराको नाम जोडिन आए पनि अनुसन्धान गर्ने र बयान लिने थप आधार फेला परेन,’ जिल्ला न्यायाधिवक्ता शर्मा भन्छन्, ‘सीआईबीले प्रतिवादी नबनाएको र अदालतले उनका नाममा पक्राउ पुर्जी पनि जारी नगरेकाले हामीले बोलाएर सोधपुछ गर्ने कुरा पनि भएन ।’

सम्बन्धित खबर