२०८१ माघ १०, बिहिवार , ०४:५०:५३ बजे

Sajhamanch
'

नाबालिगलाई यसरी फसाइयो लागुऔषध कारोबारमा, धरौटीमा छुटेलगत्तै अवैध धन्दामा

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । नेपालमा नाबालिगलाई लागुऔषध कारोबारमा फसाइएको एउटा घटना सार्वजनिक भएको छ । नाबालिगलाई लागुऔषध कारोबारमा संलग्न गराएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले पर्साको धोबीनी गाउँपालिका–५ का २७ वर्षीय फैज उल्लाह साहलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले त्यसअघि एक बालिकालाई पक्राउ गरेको थियो । गएको असार ३१ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो कम्प्लेक्सबाट ती बालिकालाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।


यस्तो छ घटना

प्रहरीका अनुसार ती बालिका अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो अवैध लागुऔषध गाँजा लिन त्यहाँ पुगेकी थिइन् । तर, आफूले लिन गएको सामानबारे उनी अनविज्ञ थिइन् ।

१६ वर्षीया ती बालिका प्लस टुको परीक्षा दिएर बसेकी थिइन् । सोही समयमा एउटा एजेन्सीमा रिसेप्सनिस्टको काम गर्न थालिन् । त्यही बेला एक व्यक्तिले कर्मचारी आवश्यक भएको उनलाई जानकारी गराए । उनले त्यहाँ एक मान्छे पठाइदिइन् ।

केही दिनपछि फेरि त्यही व्यक्तिले फोन गरेर पहिला पठाएको मान्छेले राम्रो काम नगरेको ती बालिकालाई सुनाए । ती व्यक्तिले उनै बालिकालाई कामको ‘अफर’ गरे ।

“।।।पहिला पठाएको मान्छेले त्यति राम्रो काम गरेन, तपाईं आउनुहुन्छ भने मासिक २० हजार तलब दिन्छु भनेर प्रस्ताव गर्छन्,” एसपी जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “तिनी बालिकाले काम गरेको जब एजेन्सीले भन्दा बढी रकम तलबबापत पाउने भएपछि ठिक छ भन्छिन् र कामको बारेमा सोध्छिन् ।”

त्यसपछि ती व्यक्तिले आफ्नो काम कहिलेकाहीँ मात्र हुने र सोहीअनुसार गर्नुपर्ने भन्छन् । विदेशबाट आएको सामान (चकलेट, सजावटका समान, खेलौना र कपडा) एयरपोर्टको कार्गो कम्प्लेक्सबाट बुझेर ल्याउने मात्र काम गर्नुपर्ने ती व्यक्तिले बालिकालाई बताउँछन् ।

त्यसका लागि परिचयपत्र बनाउन भन्दै ती व्यक्तिले नागरिकताको फोटोकपी माग्छन् । ती व्यक्तिले भनेअनुसार बालिकाले आफ्नो नागरिकताको फोटोकपी दिन्छिन् । यसरी नागरिकताको फोटोकपी माग्ने व्यक्ति तिनै पक्राउ परेका फैज उल्लाह साह हुन् ।

प्रहरीका अनुसार साहले सो नागरिकताको फोटोकपी भारत हुँदै अमेरिकामा पठाएका थिए । सोही नाममा अमेरिकाबाट कपडाभित्र लुकाइ गाँजा मगाएका थिए ।

असार ३१ गते साहले कामका लागि भन्दै ती बालिकालाई बोलाए । बालिकाका नाममा कार्गो कम्प्लेक्समा सामान आएको भन्दै उनलाई दुई हजार रुपैयाँ ट्याक्सी भाडा दिएर लिन पठाए । सोही सामान लिने क्रममा ती बालिकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ती बालिकाले कपडा भनी बुझेको सामान क्यालिफोर्नियाबाट आएको दुई किलो गाँजा थियो ।

त्यसपछि थप अनुसन्धानपश्चात् बालिकालाई परिचालन गर्ने साहलाई पक्राउ गरिएको एसपी जोशीले जानकारी दिए ।

“बालिका पक्राउ परेपछि त्यही दिन (असार ३१ गते) नै साहलाई पक्राउ गरिएको हो,” उनले बाह्रखरीसित भने, “बालिकालाई फसाएको देखिन्छ । बालिकालाई त्यसअघि कारोबार बारेमा केही थाहा नभएको खुलेको छ ।”

साहलाई काठमाडौंकै बालाजुबाट पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए ।

धरौटीमा रिहा, फेरि त्यही धन्दामा

फैज उल्लाह साह साह यसअघि पनि यस्तै घटनामा मुछिएका थिए । गएको चैत २१ गते उनी क्यालिफोर्नियाबाटै आएको गाँजा लिन जाँदा पक्राउ परेका थिए । त्यति बेला उनकै नाममा आठ किलो गाँजा आएको एसपी जोशीले बताए ।

त्यति बेला उक्त गाँजा लिन साह र एक भारतीय नागरिक गएका थिए । ती भारतीय नागरिकले साहलाई प्रयोग गरेका थिए । पछि अदालतको आदेशबाट साह एक लाख २० हजार रुपैयाँ धरौटीमा रिहा भएका एसपी जोशीले जानकारी दिए । ती भारतीय नागरिक अझै नेपाली जेलमा रहेका उनले बताए ।

सम्बन्धित खबर