२०८१ मंसिर १४, शुक्रवार , ०८:१६:०४ बजे

Sajhamanch
'

गिरीबन्धु टी इस्टेट प्रालिका संस्थापक शेयर सदस्यको प्रेस विज्ञप्ति

सोमवार, साउन १, २०८०

हामी गिरीबन्धु टी इस्टेट प्रालि (कम्पनी)का संस्थापक शेयरधनी हौं । यो कम्पनी झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ६ मा मिति २०२०।०४।२७ मा दर्ता भएको र कम्पनीको स्थापना हुँदाका बखत हामी (कृष्णकुमार गिरी, प्रेमकुमार गिरी) र त्रिलोचन गिरी गरी ३ जनामात्र संस्थापक शेयरधनी रही कम्पनी स्थापनाकालदेखि नै चिया बगान सञ्चालन गर्दै आइरहेका थियौं ।

हाम्रो हजुरबुबा शमसेर गिरीका मूल अंशियारहरु सबैको हिस्सा रहने गरी पटक पटक शेयर पूँजी वृद्धि र बाँडफाँड हुँदै जाँदा २०४० सालमा कम्पनीको कूल ८५२ कित्ता शेयरमध्ये हामी समेतको नाममा २२० कित्ता शेयर भएकोमा हाम्रो २२० कित्ता शेयरको मूल्याङ्कन वापत रु. २३,५१,०००।– नगद र राजमार्ग उत्तरबाट नरमकरम मिलाई १०२ विगाहा जग्गासमेत हामीले चिया उत्पादन गर्ने उद्देश्य राखी दर्ता गर्ने कम्पनीको नाममा नामसारी गरिदिने गरी अलग हुने मिति २०४०।०७।१७ को विशेष साधारणसभाबाट निर्णयसम्म भएको हो ।

सो निर्णय हालसम्म कार्यान्वयन नभएको र आजका मितिसम्म हाम्रो नाममा रहेको यस कम्पनीको शेयर कुनै पनि व्यहोराले कसै उपर पनि हक हस्तान्तरण, विक्री, दाखेल खारेज, नामसारी नगरेको अवस्था छ । गिरीबन्धु टी इस्टेटमा हाम्रो शेयर २०४०।०७।१७ पूर्वको स्थितिमा कायमै रहेको र कम्पनीमा हाम्रोसमेत अधिकार अन्य शेयर होल्डरहरु सरह रहेको अवस्था छ ।

यस स्थितिमा गिरीबन्धु टी इस्टेटका सञ्चालक छत्रबहादुर गिरीसमेत अन्य शेयर धनीहरुले २०४० सालदेखि आ–आफू संलग्न भई एकलौटी रुपमा अवैध र गैरकानूनी ढंगबाट कम्पनी सञ्चालन गरिरहनु भएको छ । कम्पनीको हिसाब किताबका साथै मुनाफा, लाभांशसमेत हामीलाई नदिएको स्थिति छ ।

मिति २०४०।०७।१७ गतेको विशेष साधारणसभाको निर्णय कार्यान्वयन नगरी उल्टै हाम्रो जानकारी र सहमति बेगर एकलौटी र मनोगत रुपमा ती जग्गाहरुको नापनक्शा एकीकरण, दाखेल खारेज, दर्ता कित्ता मिलान लगायतका काम कारबाही समेत गरेकोमा हाम्रो तर्फबाट झापा जिल्ला अदालत समक्ष निजहरु समेत उपर “कीर्ते जालसाँज” (मुद्दा नं. ०७८– C४–१४५) र “दूषित कित्ता नक्शा एकीकृत निर्णय, दर्ता बदर, दर्ता कायम, चलन” (मुद्दा नं. ०७८–CP–१०७४) मुद्दा दायर गरिएको छ । ती मुद्दाहरु सम्मानित अदालतमा विचाराधीन अवस्थामा छन् ।

यसैगरी गैर कानूनी रुपमा गिरीबन्धु टी इस्टेट कम्पनी सञ्चालन भइरहेको हुनाले कम्पनी कानून बमोजिम आवश्यक छानविन गरी “कम्पनीको हिसाब किताब गरी शेयर लागतसमेत अद्यावधिक गरी पाउँ” भनी हामीहरुको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा मिति २०७९।०६।०७ गते (द.नं. ६२०) मा उजुरी दर्ता गराई कारवाहीको अवस्थामा छ र उक्त कार्यालयबाट २०७९।११।२९ गते कम्पनीमा हाम्रो शेयर कायम रहेको र जग्गासमेत हाम्रो नाममा नामसारी नगरिदिएको वास्तविक कुरालाई आधार लिएर कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंले कम्पनी सञ्चालन र हिसाब किताबसमेतको विषयलाई लिएर ६ बुँदे आदेशसमेत जारी गरेको अवस्था छ ।

यसरी लगातार पूर्ण सञ्चालनमा रहिरहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्री विगत ७–८ वर्षदेखि बन्द गराई छत्रबहादुर गिरीले कम्पनीबाट उत्पादन भएको कच्चा पदार्थ (हरियो पत्ती) आफ्नो र आफ्ना छोराहरुको मात्र स्वामित्वमा रहेको शमसेर एण्ड गंगादेवी टी कम्पनीमा प्रशोधन गराई आफ्नो व्यक्तिगत लाभको लागि गिरीबन्धु टी इस्टेट कम्पनी र सोका अन्य सम्पूर्ण शेयर धनीहरुलाई ठूलो आर्थिक क्षति पुर्याई हिसाब किताब, मुनाफा, लाभांशसमेत नदिएको अवस्था छ । यसरी २०४० सालदेखि नै कम्पनीमा आफ्नो मनोमानी गरी कम्पनीको साधन, स्रोत र सम्पत्ती दुरुपयोग गरी, रकम अपचलन गरी आफ्ना भाइ बन्धुहरुलाई नोक्सान पारी छत्रबहादुर गिरीले निजी फाइदा उठाइरहेको कुरासमेत जानकारी गराउन चाहन्छौं ।

विगत ३–४ वर्षदेखि छत्रबहादुर गिरीले यस गिरीबन्धु टी इस्टेटको सम्पूर्ण जग्गा बिक्री गर्ने भनी बिर्तामोडका ३–४ जना जग्गा एजेण्ट (दलाल)हरु लगाई सो जग्गामा लगानी गरेमा करोडौं फाइदा हुने भनी सोझासिधा सर्वसाधारण मानिसहरुका साथै व्यापारीहरुबाट समेत करोडौंको रकम बैनासमेत गरी ठूलो रकम करिव २५–३० करोड रुपयाँ उठाएको बुझिएको छ । यसरी उठाएको रकमको जिम्मेवार छात्रबहादुर गिरी स्वयं र निजका जग्गा एजेण्टहरु नै हुनेछन् ।

यदि गिरीबन्धु टी इस्टेटको नामबाट यसरी रकम उठाएको भएमा यसको दायित्व कम्पनीमा नरहने र निज छत्रबहादुर गिरीले अनधिकृत र गैरकानुनी रुपमा उठाएको रकम र गरेको खर्च तथा घाटा भएको रकमको समेत जिम्मेवार छत्रबहादुर गिरी नै हुने कुराको जानकारी गराउँदछौं । साथै छत्रबहादुर गिरी र निजका जग्गा एजेण्ट (दलाल)हरुको प्रलोभनमा परी जग्गाको बैना बापतको रकम बुझाउनुहुने सम्पूर्ण महानुभावहरु तथा व्यवसायीहरु समेत आफूले बुझाएको रकमको जवाफदेही आफू स्वयं हुनुपर्नेछ । कम्पनीको यस लेनदेनप्रति कुनै उत्तरदायित्व रहने छैन ।

यसरी कम्पनीको शेयर तथा चल अचल सम्पत्तिको विषयलाई लिएर मुद्दा परिरहेको र उक्त मुद्दामा भएको आदेश बमोजिम कार्य गर्नुपर्नेमा यस कम्पनीको विषयमा थप कलुषित भावना लिई हाम्रो समेत हक रहेको कम्पनी एकलौटी पार्ने कलुषित मनसायले हामीहरु तथा कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौंसमेत उपर झुठा अफवाह फैलाउने, अनर्गल आरोप लगाउने, विभिन्न निकायमा उजुरी दिने जस्ता कार्य गरेको तथा कम्पनीमा भइरहेको अवैध र अनधिकृत कार्य लुकाई छिपाई हामीलाई हाम्रो कानुनी अधिकार तथा आर्थिक अधिकारबाट वञ्चित गराउने नियतका साथ निज छत्रबहादुर गिरी अगाडि बढेको साथै सर्वसाधारणबाट रकम उठाएको तथा कम्पनीको सम्पत्ति हिनामिना गरेको कारण सर्वसाधारण सबैमा जानकारी होस् भनी यो प्रेस विज्ञप्ति जारी गर्नुपरेको अवस्था रहेको छ ।

मिति २०४० सालदेखि हालसम्म छत्रबहादुर गिरीले कम्पनीलाई पुर्याएको आर्थिक क्षति, हानी नोक्सानी र अन्य गैरकानुनी, अवैध निर्णयहरुका साथै कम्पनीको हित विपरीत गरेका सम्पूर्ण निर्णयहरु छानविन गरी कानुनी उपचार अवलम्बन गरी हालसम्म भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति निजको निजी सम्पत्ति, घरघरानाबाट असुल उपर गरिने व्योहोरा जानकारी गराइन्छ । यस विषयमा सर्वसाधारण सबैलाई सचेत रहन समेत अनुरोध गर्दछौं ।

 

प्रेम कुमार गिरी/कृष्ण कुमार गिरी
शेयरधनी सदस्यहरु

गिरीबन्धु टी इस्टेट प्रालि, बिर्तामोड–६, झापा

सम्बन्धित खबर