२०८१ माघ १२, शनिवार , १२:४६:०२ बजे

Sajhamanch
'

शिक्षा सहकारीद्वारा ऋणी सदस्यको १,३१,१३९ रुपैयाँ कर्जा मिनाहा

सोमवार, साउन १, २०८०

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एकजना ऋणी सदस्यको निधन भएपछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरेको छ ।

मेचीनगरको धुलाबारी सेवा केन्द्र अन्तरगतका सेयर सदस्य सञ्जयकुमार मेहताको गत फागुनमा मृत्यु भएकोले उनको नाममा रहेको बाँकी कर्जा मिनाहा भएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित वित्तीय कारोवार गर्दै आएका मेहताको पेट सम्बन्धी रोगका कारण मृत्यु भएको थियो ।

मेहताको मृत्युपछि उनले संस्थामा तिर्न बाँकी देखिएको एकलाख ३१ हजार १३९ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । कर्जा मिनाहासँगै मेहता परिवारलाई मृत्यु संस्कार राहतवापत १५ हजार रुपैयाँ प्रदान गरिएको संस्थाको सदस्य सेवा केन्द्र धुलाबारीका प्रमुख विपना तिम्सिनाले बताइन् ।

सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । यसअघि पनि शिक्षा बहुउद्देश्यीयले धेरैजना मृतक ऋणी सदस्यको कर्जा मिनाहा गरेको थियो ।

संस्थाले कर्जा मिनाहाको पत्र र मृत्यु संस्कार राहत रकम मेहताकी श्रीमती मञ्जुदेवीलाई हस्तान्तरण गरेको हो । संस्थाका उपाध्यक्ष मिश्र, सचिव सूर्यकुमार खतिवडा र सञ्चालक सदस्य लक्ष्मीप्रसाद घिमिरेको उपस्थितिमा कर्जा मिनाहाको पत्र मेहता परिवारलाई दिइएको हो ।