![](https://sajhamanch.com/wp-content/uploads/2023/07/rojgari-in-foriegn-2-e1689599006262.png)
काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या हो ।
चालु आर्थिक वर्षको गत जेठ महिनामै नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड तोडेको थियो । जेठसम्म ७ लाख १९ हजार ६७७ जना श्रमिक श्रम स्वीकृति लिएर उडिसकेका थिए । असार महिनामा थप ५१ हजार ६५० जनाले श्रम स्वीकृति लिएपछि कीर्तिमानले थप उचाइमा लिएको छ । आर्थिक वर्ष २०७१र७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए ।
गत आर्थिक वर्षमा कुल ६ लाख ३७ हजार १३३ जना श्रमिक विदेशिएकोमा यो वर्ष १ लाख ३४ हजार २१४ जना बढीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएको वैदेशकि रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।
यी तथ्यांकमा भिजिट भिसामा गएर दुबईमा श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ गरेर श्रम स्वीकृति नलिई युरोपेली देशहरु जानेहरूको संख्या सामेल छैन । ‘सिजनल वर्कर’का रुपमा कोरिया र बेलायत लगायतका देशमा जाने तथा भारतमै श्रमका लागि जानेहरुको पनि संख्या यसमा छैन ।
विदेशमा घरेलु कामदार पठाउन लागेको रोक नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसका कारण महिला श्रमिक अवैध भएर झन् असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन् । सरकारले भारत जानेलाई श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नगरेकाले रोजगारीका लागि परदेश पुग्ने सबै तथ्यांकमा समेटिएका छैनन् ।
बाध्यताको बाटो विदेश
वैदेशिक रोजगार विभागका प्रवक्ता सुवेदी पनि देशभित्र पर्याप्त रोजगारीको अवसर नै नहुँदा ठूलो संख्यामा युवाहरु विदेशिएको बताउँछन् । महामारीका कारण देशभित्रै रोकिएका युवाहरु पनि अहिले विदेशमा कामका लागि गइरहेको भन्दै उनले अवसरको खोजीमा युवाहरु विदेशिनु अस्वभाविक नभएको बताउँछन् । ‘एउटा अवधि काम गरेर स्वदेश फर्किएकाहरु पनि यहाँ अवसर नपाएकै कारण उतै फर्किरहेका छन्,’ सुवेदी भन्छन्, ‘थोरैका लागि मात्रै वैदेशिक रोजगारी रहर हुनसक्छ, धेरैको लागि त यो बाध्यता हो ।’
सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४र६५ मा २ लाख ४ हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए । त्यसपछि लगातार बढिरहेको विदेशिने युवाको संख्या आर्थिक वर्ष २०७१र७२ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । नयाँ श्रम स्वीकृति लिएर जानेको संख्यामा भने आर्थिक वर्ष २०७०र७१ मा रेकर्ड कायम भएको थियो । सो वर्ष ५ लाख २७ हजार ८१४ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।
महाभूकम्प गएको आर्थिक वर्ष २०७१र७२ मा ५ लाख १२ हजार ८८७ जनाले नयाँ श्रम स्वीकृति लिए पनि पुनः श्रम स्वीकृति लिएर जानेको संख्या उच्च हुँदा कुल संख्यामा रेकर्ड बनेको थियो । सो वर्ष पुनः श्रम स्वीकृति लिएर १ लाख ८० हजार १४५ जना विदेश जाँदा कुल ६ लाख ९३ हजार जना विदेश गएको तथ्यांकमा देखिन्छ ।
आर्थिक वर्ष २०७१र७२ पछि लगातारजसो घटिरहेको वैदेशिक रोजगारीमा जानेको संख्या कोभिड–१९ महामारीपछि भने फेरि उकालातिर छ । वैदेशिक रोजगारविज्ञ डा। जीवन बानियाँ युवाहरुले विदेशमा श्रम गर्न जानुको विकल्प नभेटिरहेका बताउँछन् ।
पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना नहुनु र राजनीतिक अस्थिरता र संक्रमण नटुंगिनुले देशको अवस्था बदलिने र सर्वसाधारण नागरिकको जीवनस्तर सुध्रने विश्वास हराउँदा यस्तो अवस्था आएको उनको तर्क छ ।
‘देशभित्र बसेर देनक जीवनयापन गर्न समेत नसकिने भएपछि यहाँ बसेर केही हुन्न भन्ने धेरै भएन,’ उनी भन्छन्, ‘त्यसले नै वैदेशिक रोजगारीमा नयाँ कीर्तिमान बनायो ।’
वैदेशिक रोजगार मामिलाका जानकार मधुविलाश पण्डित पनि देशभित्र नियमित र राम्रो तलब आउने रोजगारी नै नपाउने अवस्थाले यस्तो अअवस्था आएको ठान्छन् । ‘देशमा सत्ताको लडाइँ छ, अर्थतन्त्र मन्दीमा छ, काम गरिखाने पनि चरम निराशा छ’, उनी भन्छन्, ‘यस्तो बेलामा ठूलो श्रमशक्तिको पलायन अस्वभाविक होइन ।’
सरकारी तथ्यांकअनुसार २०५०र५१ देखि २०६९र७० सम्म २९ लाख १९ हजार २४२ युवा विदेशिएका थिए । २०६२र६३ को जनआन्दोलन यता करिब ५८ लाखभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएको सरकारको तथ्यांकमा देखिन्छ ।
अहिले मलेसिया, साउदी अरेबिया, कतार, यूएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन् । युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका युवाहरू क्रोएसिया, पोल्यान्ड, रोमानियाजस्ता देशमा जान थालेका छन् । यसले नेपालीको श्रम गन्तव्य फेरिन सक्ने भए पनि विदेशिनै पर्ने आम नियति नफेरिने संकेत गरिरहेको छ ।
विकासका चरणमा रहेको खाडी मुलुकले नेपाली अदक्ष र सस्तो जनशक्तिको लाभ उठाइरहँदा नेपालको लागि यो दशकको अन्तिम आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै युवा श्रमशक्ति निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको छ ।
अहिले पनि अधिकतम् अदक्ष र अर्धदक्ष नेपाली कामदर विदेश गइरहेका छन् । सीपयुक्त जनशक्तिको तुलनामा उनीहरूको आय कम छ । जनशक्ति बाहिरिने युवाको औसत कमाइ मासिक करिब २० हजार रुपैयाँ मात्र छ । यसैबाट नेपाली युवाको श्रमको कसरी अवमूल्यन भएको छ भन्ने स्पष्ट हुन्छ । ठूलो संख्यामा अदक्ष कामदारलाई विदेश पठाउँदा गुमेको जनसांख्यिक लाभको विश्लेषणसम्म भएको छैन ।
तर पनि गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहले पनि नयाँ रेकर्ड बनाइसकेको छ । गत जेठमहिनासम्म रेमिट्यान्स आप्रवाह गत वर्षको सही अवधिभन्दा २२।७ प्रतिशतले बढेर ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ । गत आर्थिक वर्षमा १० खर्ब ७ अर्ब मात्रै रेमिट्यान्स भित्रिएको थियो ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।१ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३।० प्रतिशतले बढेर ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष डलरमा हुने विप्रेषण आप्रवाह १।८ प्रतिशतले बढेको थियो ।
२०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा काम गर्न सक्ने उमेर समूह ९१५–५९० को संख्या यसै दशकमा सबैभन्दा उच्च विन्दुमा पुगेको छ । जनगणना २०७८ अनुसार यतिबेला ६२ प्रतिशत मानिस यो समूहमा पर्छन् । यो संख्या १ करोड ८० लाख ७१ हजार माथि छ ।
नेपालले अझै ३० देखि ४० वर्षसम्म जनसांख्यिक लाभ लिन सक्ने अवस्था रहेको विश्लेषण विज्ञहरुले गरिरहेका छन् । सबैभन्दा सहज अवस्था आउने दशक नै हुने उनीहरुको मत छ ।
तर, सरकारको कमजोर नीतिका कारण देश अवसरको सदुपयोग गर्नुभन्दा वैदेशिक रोजगारीमा जाने संख्याको नयाँ नयाँ रेकर्ड बनाउनेतर्फ मात्रै अग्रसर छ ।