२०८१ फागुन १७, शनिवार , ०४:५९:४५ बजे

Sajhamanch
'

श्रीलंका टापुको जग्गा भाडामा नदिएको नगरपालिकाको दाबी

शनिवार, असार ३०, २०८०

इटहरी । सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को श्रीलंका टापु क्षेत्रमा पर्ने करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रलाई भाडामा दिने पक्षमा नगरपालिका नरहेको स्पष्ट पारेको छ।

शनिबार सर्वदलीय बैठक मार्फत नगर प्रमुख रमेश कार्कीले कुनै पनि संस्थालाई जग्गा दिने सहमति र सिफारिस नगरेको बताए। एक गैर सरकारी संस्थाले नगरपालिकामा स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिमा काम गर्ने भनी लिएर आएको प्रस्तावलाई भगिनी सम्बन्ध मात्र कायम गर्ने सहमति भएको उनले बताए।

बराहक्षेत्र नगरपालिकाले २५ सय बिघा जमिन ९९ वर्षका लागि लिजमा दिन सिफारिस गरिएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले विज्ञप्ति समेत जारी गरेको छ।

गैर सरकारी संस्था (लुम्बिनी गार्डेन) मार्फत स्पेन देशको एक संस्थासँग भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्य सहित नगरपालिकासँग सहमति मात्र भएको र जग्गा लिजमा दिने कुनै पनि सम्झौता र सिफारिस कहीँ कतै नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ श्रीलंका टापु कोसी कटानको जोखिममा छ। हरेक वर्ष कोसीले जग्गा कटान गर्छ। त्यहाँको ३० प्रतिशत जमिन कोसी कटानभित्र पर्छ। बाँकी पूर्व पर्छ, जुन सुरक्षित छ।

त्यहाँ हरेक व्यक्तिको ५ देखि १० बिघा जमिन छ। उनीहरू खेती गरेर बसेका छन्। त्यहाँ घाँस, दाउरा र सबै हिसाबले सहज छ।

‘सरकारी जग्गा संरक्षण गर्न नगरपालिका आफैं पनि लागेको छ। अहिले त्यहाँ बस्ती पनि बढेको छ,’ नगरप्रमुख कार्कीले भने, ‘सरकारी जग्गा भाडामा दिने अधिकार नगरपालिकासँग हुँदैन र त्यो कुरामा हाम्रो सहमति हुँदैन।’

उनले कोही कसैले भाडामा माग्दैमा त्यहाँ बसोबास गर्ने जनताको हित प्रतिकूल काम गर्न नहुने र नदिने जिकिर गरे।

श्रीलंका टापुमा आँखाले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको बस्तीमा बग्रेल्ती कच्ची घरहरु छन्। जताततैबाट हिँड्न सकिन्छ। श्रीलंका टापुमा १२ हजार भन्दा बढीको बस्ती छ।

मधेसको आदिवासी चन्दवंशी लगायत सबै खाले जातजाति पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास रहेको श्रीलंका टापु सरकार भन्दा निकै टाढा छ। टापुका मतदाता चुनावका बेलामा भोट हाल्न कोशी पूर्वको बराहक्षेत्र आउँछन्। भोट हाल्छन् त्यो बाहेकको राज्यसँग उनीहरुको अरू धेरै लेनदेन देखिँदैन।

कृषि र पशुपालनमा निर्भर रहेको कोशी टप्पुका बासिन्दा सबै जना ऐलानी जग्गामा बसोबास गर्छन्।

टापुमा धान कमै फल्छ, गहुँ, मकै कोदो मुख्य उत्पादन हो। यहाँका बासिन्दाले पशुपालन र तरकारीबाट मनग्ये आम्दानी गर्छन्। गोठबाट दाम्लो फुकालेर छोडेपछि एकै पटक साँझपख बस्तुभाउ खोज्दा हुने चरनको प्रचुर सम्भावना देखिन्छ।

पाँच दशक अघि कोशीका दुवै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यस बेला श्रीलंका टापु थिएन। अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो।

सम्बन्धित खबर