२०८१ मंसिर १०, सोमवार , ०७:३५:५२ बजे

Sajhamanch
'

भानु साहित्यिक प्रतिष्ठानद्वारा मनाइयो भब्य भानु जयन्ती

शनिवार, असार ३०, २०८०

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरमा प्रतिभा सम्मान, रामायण वाचन, कविता वाचन लगायत कार्यक्रमहरु भब्यरुपमा सञ्चालन गरेको छ ।

काँकरभिट्टास्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी संस्थाको सभाहलमा आयोजित समारोहमा चारजना प्रतिभाहरु सम्मानित भएका हुन् ।

नेपाली महिला क्रिक्रेट टिमका कप्तान मेचीनगर निवासी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना, सञ्चारकर्मी भूमिका सुब्बा फियाक र मेचीनगर–६ ज्येष्ठ नागरिक वडा समितिका नारायण प्रसाईलाई सम्मानसहित नगद प्रदान गरी पुरस्कृत गरिएको हो ।

कप्तान रुविना क्षेत्रीलाई खेलकुद क्षेत्रमा, पत्रकार लिम्बुलाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु साहित्यिक पुरस्कारबाट सम्मान गरिएको छ । रुविनालाई २१ हजार र पत्रकार लिम्बू, साहित्यकार ढुंगाना र ज्येष्ठ नागरिक वडासमितिलाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ । कला संस्कृतिको क्षेत्रको प्रबर्धनका लागि नौमती बाजा, संगीनी नाँच र खैंजडी भजनमा योगदान गरेकोमा ज्येष्ठ नागरिक वडासमितिलाई पुरस्कृत गरिएको हो ।

सो कार्यक्रममा कविता गोष्ठी र रामायण वाचन प्रतियोगितासमेत गरिएको थियो । विजेताहरु नगदसहित सम्मान गरिएको छ । कविता गोष्ठीमा आदर्श माविका छात्र आदित्य काफ्ले प्रथम भएका छन् । उनलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, बालकल्याण माविका छात्र चिरञ्जीवी कोइराला दोस्रो र अरनिको माविका छात्रा निर्जला दाहाल तेस्रो भइन् । उनीहरुलाई क्रमशः ३ हजार र २ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यस्तै रामायण वाचनमा पहिलो हुने रुद्रप्रसाद भण्डारी, दोस्रो हुने पर्शुराम तिम्सिना र तेस्रो हुने ईन्दिरा कुसुमलाई क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको निर्णयकको संयोजकमा जीवनाथ सुवेदी तथा सदस्यहरुमा टंक विकल्प र पुन्य बराल रहेका थिए । सो प्रतियोगिताको सभापतित्व नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मुनाराज शेर्माले गरेका थिए ।

सो समारोहका प्रमुख अतिथि साहित्यकार डिल्लीराज नेपालले आफ्नो मन्तब्यमा भाषाको कुनै भूगोल नहुने बताएका छन् । उनले जहाँ साहित्य हुन्छ त्यहाँ कविको साम्राज्य हुने बताए । अहिलेको कला संस्कृतिले नयाँ पुस्तालाई हस्तान्तरण गरेको छ यो राम्रो पक्ष रहेको उनको भनाई थियो ।

कार्यक्रममा विशिष्ठ अतिथिहरु मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेती, नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भानु साहित्यिक प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा गरिएको कार्यक्रमको औचित्यमाथि उनले नै प्रकाश पारेका थिए । कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई संस्थाका वरिष्ठ उपाध्यक्ष मेदनीप्रसाद खरेलले शाब्दिक स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष मोहनप्रकाश उप्रेतीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव सुशिल आचार्य, कोषाध्यक्ष शुभद्रा भट्टराई र सदस्य जय आर्चायले संयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित खबर