२०८१ माघ ३०, बुधवार , ११:११:५१ बजे

Sajhamanch
'

निर्माण व्यवसायीले मागे अर्थमन्त्रीको राजीनामा

शुक्रवार, असार २९, २०८०

काठमाडौँ । नेपाल निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन्। शुक्रवार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन्।

उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेका भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।

उनले सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमीक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको भन्दै सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने बताए। उनले निर्माण व्यवसायीहरुसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिन भन्न सरकारले नपाइने बताए। उनले लामो समयदेखि निर्माणको काम ठप्प भइरहेको र यसको प्रमुख कारण सरकारले काम गर्ने वातावरण बनाउन नसकेको बताए।

बिरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए। उनले भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे।

सम्बन्धित खबर