
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश र विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
सो अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको सालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सो अवसरमा व्राह्मण बटुकहरूले स्वस्तिवाचनसहित वैदिक मन्त्रोच्चारण गरी आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई आदिकवि आचार्यले भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । रामायण अहिले पनि कतिपय नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गर्ने गरिन्छ ।