भद्रपुर । एक वर्ष पहिले दिवंगत भएका तुलसीप्रसाद ढकालद्वारा लिखित सुब्बा बिष्णुलाल जीवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको सोमबार विमोचन गरिएको छ ।
आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने ध्येय लिएर लेखिरहेका ढकालको पुस्तक प्रकाशनको तयारीमा रहेकैबेला अचानक निधन भएको थियो । उनको वार्षिक पुण्यतिथिको अवसरमा छोराहरुले पुस्तक प्रकाशन गरी विमोचन गरिएको हो । तुलसी प्रसादले लेखेको पुस्तकको विमोचन उनका दाजु खगेन्द्रप्रसाद ढकालबाट गराइएको हो ।
भद्रपुर ७ गार्मेन्टचोक निवासी भेषराज ढकालले पुस्तकको प्रकाशन गरेका हुन् । सो पुस्तक कभरसहित ९२ पृष्ठको छ । चार खण्डमा विभाजित सो पुस्तकको पहिलो खण्डमा सुब्बा विष्णुलालको जीवनी र काम, दोस्रो खण्डमा वंश विस्तार, तेस्रो खण्डमा केही सान्दर्भिक रचना र चौथो खण्डमा ढकाल परिवारका दुर्लभ तस्वीर समेटिएको छ ।
अग्रज पत्रकार गोपाल गिरीले पुस्तकको सम्पादन गरेका हुन् । पुस्तक ढकाल परिवारसँग सम्बन्धित देखिए तापनि यसले सुब्बा विष्णुलालका समयमा र त्यसअघि अर्थात् नेपाल एकीकरणताका देखिको केही इतिहास, सिद्धपुरबाट चिनिएको ठाउँ भोजपुर भएको किम्बदन्ती, भोजपुरको भौगौलिक, सामाजिक, जातजाति र सँस्कृतिका साथै धार्मिक इतिहास पनि जान्न मद्दत पुग्ने भएकाले अरुका लागि पनि जानकारीमूलक रहेको सम्पादक गिरीले जनाएका छन् ।