
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सेवाग्राहीले मासिक रुपमा क्षेत्रगत रुपमा सेवाग्राही–जनप्रतिनिधि संवाद अभियान सुरु गर्न गाउँपालिकालाई सुझाव दिएका छन्।
सेवाग्राहीहरूले योजनाको प्रभावकारी अनुगमन गर्नुपर्ने,सेवाग्राहीका समस्या बुझ्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतले सातामा एक दिन सेवाग्राहीको गुनासो सुन्ने समय र डेस्क बनाउनुपर्ने माग पनि गरेका छन्। उनीहरुले कर्मचारी बिदामा बसेको अवस्थामा सम्बन्धित कर्मचारीबाट सेवा प्रवाह स्थगित भएको सूचना सेवाग्राहीले समयमै पाएमा कार्य सम्पादनको असहजता अन्त्य हुने समेत सुझाएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाका अनुसार पालिकाले प्रवाह गर्ने सेवा सन्तुष्टिको अवस्था बारे वडागत रूपमै पुगेर जनमत सर्वेक्षण गरिएको थियो। पालिकाका ६ वटा वडाका टोल बस्तीमा पुगेर गरिएको जनमत संकलन र जनमत संकलन प्रतिवेदन प्रस्तुतिका क्रममा यस्तो सुझाव आएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए। पाथीभरा याङ्वरक गाउँपालिकाले सार्वजनिक सुनुवाइको क्रममा पालिकाका प्रत्येक वडाका ३० घरधुरी हुने गरी १ सय ८० वटा जनमत संकलन गरेको थियो।
जनमत सङ्कलनको नतिजा सहित गरिएको सार्वजनिक सुनुवाइका क्रममा सेवाग्राहीले महिनामा एक दिन पालिकाका भित्रका प्रत्येक वडामा पुगेर सेवाग्राही–जनप्रतिनिधि संवाद कार्यक्रम सञ्चालन गर्न,पशु तथा कृषि क्षेत्रका आवश्यकताको पहिचान गरी योजना तथा कार्यक्रम छनौट गर्न,वडा पालिकामा लक्षित समुदायका सदस्यको अनिवार्य उपस्थितिमा लक्षित कार्यक्रमको योजना बनाउन र सञ्चालन गर्न सुझाव दिएका छन्।
सुझावका क्रममा अपाङ्ग र बालमैत्री संरचना निर्माणमा ध्यान दिन,प्रत्येक वडामा खुल्ला मञ्चको व्यवस्थापन गर्न,सुरु भएको काम पूरा नगरी अरु योजनामा हात नहाल्न र टुक्रे योजना सञ्चालन नगर्न समेत सेवाग्राहीको सुझाव रहेको पालिकाले जनाएको छ। सेवाग्राहीहरूले पालिकाका प्रत्येक वडाहरूमा इन्टरनेट सेवा बिस्तार गर्न माग गरेका छन्।
उनीहरुले एकल पुरुष भत्ताको प्रबन्ध गर्न देखि दीर्घरोगीहरुलाई थप उपचार खर्चको व्यवस्थाका लागि समेत पालिकाले अग्रसरता लिनुपर्ने सुझाव दिएका छन्। वडा पालिकाका योजनाको प्राविधिक अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि समेतको अनिवार्य उपस्थिति रहनुपर्ने सेवाग्राहीको सुझाव छ।
केही गुनासा,केही राम्रा पक्ष देखाए सेवाग्राहीले
जनप्रतिनिधिहरू घरघरमै पुगेर सेवा दिईरहेको,कार्यालयमा पुग्ने बित्तिकै तपाईँको केही काम थियो की भनेर कर्मचारीले सोध्ने गरेको,आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिएको,फुसको छानो हटाउने अभियान अघि बढाएको र बिपन्न परिवारलाई घर समेत बनाइदिएको जस्ता पालिकाका राम्रा पक्ष बताएका सेवाग्राहीले कार्य सम्पादन प्रक्रियामा कतिपय गुनासा समेत गरेका छन्।
योजना सञ्चालनका प्राविधिक झन्झट व्यर्होनु परेको,टुक्रे योजनाका कारण पालिकाको बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको, पालिकाको शैक्षिक अवस्था खस्किँदै गएको र खास गरी कक्षा ८ को नतिजा ज्यादै नराम्रो भएकोतर्फ सेवाग्राहीको गुनासो छ। अनावश्यक तवरले सडकको ट्र्याक खोल्ने कार्यले समग्र वातावरणीय प्रभाव नकारात्मक पर्ने गरेको भन्दै सेवाग्राहीले भइरहेका सडकलाई बाह्रैकाल सञ्चालन हुने गरी बनाउन समेत सुझाव दिएका छन्।
पालिका अध्यक्ष केशरकुमार सुब्बाले सेवाग्राहीले उठाएका सवाल र व्यक्त भएका गुनासोको उचित सम्बोधन गरी पालिकाका सेवा प्रवाहका सबल पक्षको थप निरन्तरता र प्रभावकारितामा जोड दिने बताए। पालिका उपाध्यक्ष रनमाया गुरुङले योजनाको प्रभावकारी अनुगमनका आफूले कुनै कसर बाँकी नराखेको बताउँदै सेवाग्राहीले उठाएका सुझाव समेतको मनन गरी विधि र प्रक्रिया अनुसार अघि बढ्ने बताईन्।
प्रमुख प्रशासकीय अधिकृत निरौलाले सेवा प्रवाह छिटो,छरितो,चुस्त र सेवाग्राहीमैत्री हुनुपर्ने कर्मचारी प्रशासनको बुझाइमा कमी हुन नदिने प्रयत्न जारी राख्ने प्रतिबद्धता जनाए।