उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ ।उसले कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको विरोध गरेको छ । संयुक्त राज्य अमेरिकाले ‘युद्धकालको स्तरभन्दा बढी जासुसी गतिविधि तीव्र पारेको’ उत्तर कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका एक प्रवक्ताले बताएका छन् । अमेरिकी जासूसी विमानहरूले यस महिना लगातार आठ दिनमा ‘उत्तेजक’ उडान गरेका छन् । एउटा जासुस विमानले पूर्वी सागरमा उत्तर कोरियाको हवाई क्षेत्रमा ‘धेरै पटक’ घुसपैठ गरेको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् ।
प्रवक्ताले प्योङयाङले अमेरिकी विमान खसालेको विगतका घटनाहरूको हवाला दिँदै अमेरिकाले आफ्नो हवाई जासुसीको मूल्य चुकाउने चेतावनी दिए । वक्तव्यमा कोरियाली प्रायद्वीपमा अमेरिकी रणनीतिक आणविक सम्पत्ति तैनाथ गर्ने योजनालाई उत्तर कोरियाका लागि ‘सबैभन्दा अघोषित आणविक ब्ल्याकमेलिङ’ को संज्ञा दिँदै यसले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।
वासिङ्टनले गत अप्रिलमा दक्षिण कोरियाको बन्दरगाहमा दशकौंपछि पहिलोपटक भ्रमण गर्न आणविक हतियारले सुसज्जित ब्यालेस्टिक पनडुब्बी पठाउने घोषणा गरेको थियो ।एजेन्सी