२०८१ माघ ३, बिहिवार , ०२:१५:३७ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिकाद्वारा ५३ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सोमवार, असार २५, २०८०

शिवसताक्षी । शिवसवसताक्षी नगरपालिकाले नगर भित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका भित्रका प्राविधिक धार र साधारण विषयतर्फ अध्ययन गर्ने ५३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

उनीहरुलाई नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले छात्रवृत्ति प्रदान गरेका थिए ।

शिवसताक्षीको झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान शिक्षालयका ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै शिवसताक्षीमा रहेर अन्य पालिकाहरुमा प्राविधिक धारतर्फका अध्ययन गर्ने १६ जनालाई पनि छात्रवृत्ती प्रदान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । साधारण विषय अध्ययन गर्ने २९ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको हो भने, एक जना शिवसताक्षी निवासी काठमाण्डौ एपिफ विद्यालयमा अध्ययन गर्ने छात्रलाई समेत छात्रवृत्ति प्रदान गरिएको हो ।

नगरपालिकाले ५३ जनालाई ९ लाख ८० हजार ५ सय रकम छात्रवृत्ति प्रदान गरेको शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख थोप्राले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले गरिव तथा विपन्न परिवारका छोरा छोरीहरु माथिल्लो कक्षा अध्ययन गर्नका लागि बन्चित हुन नपरोस भनेर नै नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए । आउँदो आवमा नगरपालिकाले कक्षा ११ लाई निशुल्क शिक्षा प्रदान गर्ने छ । कक्षा दश सम्म शिक्षामा निशुल्क भएपनि माथिल्लो कक्षा र प्राविधिकधार तर्फ अध्ययन गर्दा फि तिर्नु पर्ने बाध्यताले गरिव तथा विपन्न परिवारका छोरा छोरीहरुले पढाई छोड्नु पर्ने बाध्यतालाई निरुसाहित गर्न छात्रवृत्तिको व्यवस्था गरिएको नगरप्रमुुख थोप्राको भनाई थियो । यसले वर्षेनी शिक्षा आर्जन गर्न सर्वसुलभ हुँदै जाने छ ।

त्यस्तै नगर उपप्रमुख नगरमाया कार्कीले विद्यार्थीले पाएको छात्रवृत्तिले अध्ययनका लागि खर्च गर्न सुझाइन् । एउटा घरमा कम्तिमा एक जना शिक्षित हुँदा सिंगो परिवार शिक्षित हुने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई राम्रो सँग अध्ययन गर्न समेत उनले बताइन् । यहाँ छात्रवृत्ति पाएका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्दा राम्रो ग्रेड ल्याएर उत्तीर्ण गर्दा नगरपालिकाले विद्यार्थीहरुलाई गरेको लगानीले सार्थकता पाउने उपप्रमुख कार्कीको भनाई थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका लेखा प्रमुख प्रकाश योङ्गहाङ्ग, योजना अधिकृत प्रकाश चौधरी, प्रशासन प्रमुख डिल्ली नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिक्षा शाखाका प्राविधिक सरोज अधिकारीको स्वागत रहेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छविलाल ढकालले सञ्चालन गरेका थिए ।

सोमवार, असार २५, २०८० | शिक्षा, समाज

सम्बन्धित खबर