![](https://sajhamanch.com/wp-content/uploads/2023/07/1688893900_program-1200x560-1.jpg)
ताप्लेजुङ । ताप्लेजुङमा लोपोन्मुख रेड पाण्डा (रातो हाब्रे) को गणना गर्न सरोकारवालाहरुले माग गरेका छन्।
हिमाली संरक्षण मञ्चको कार्यक्रममा सहभागीहरुले रेड पाण्डाको संख्या घटेको वा बढेको विषयमा गणना गर्नुपर्ने माग गरेका हुन्।
रेड पाण्डाको १० वर्ष अगाडि गणना गरिएको थियो। १० वर्षअघिको तथ्याङ्कका आधारमा गरिने गतिविधिहरु रेड पाण्डाको संरक्षणको कार्यमा अपूर्ण हुने सरोकारवालाको भनाइ छ।
१० वर्ष अघिको बेलाको तथ्याङ्क अनुसार ताप्लेजुङमा ७७ देखि १ सय ३४ वटासम्म रेडपाण्डा रहेका थिए। सन् २०१३ पछि रेड पाण्डाको गणना वा तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने कार्य नभएकाले हालको संख्या र अवस्थाबारे कुनै जानकारी नै छैन। १० वर्ष अघिको तथ्याङ्क अनुसार नेपालमा ३ सय देखि ६ सय वटा सम्म रेडपाण्डा रहेको बताइन्छ।
ताप्लेजुङ,पाँचथर र इलाममा १ सय २५ देखि २ सय १८ वटा सम्म रेडपाण्डा रहेको अनुमान छ। नेपालसहित भारत,भुटान,चीन र बर्मामा रेडपाण्डा पाइने गरेको अध्ययनले देखाएको छ।