![](https://sajhamanch.com/wp-content/uploads/2023/07/1688818130_robin_tamang-1200x560-1.jpg)
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रक गायक रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ।
आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको छ। त्यसपछि अन्तिम संस्कारको लागि शोभा भगवतीमा लैजाने जनाइएको छ।
तामाङको मङ्गलबार ६० वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको थियो।
पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ। उनको निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।
गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन्।