२०८१ फागुन २१, बुधवार , ०६:५७:५३ बजे

Sajhamanch
'

भलिबल क्लब लिगमा सशस्त्रको विजयी सुरुवात

शनिवार, असार २३, २०८०

काठमाडौं । सातौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार महिलातर्फ दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै सशस्त्रले सुखद सुरुआत गरेको हो । सशस्त्रले दावालीलाई २५–२२, २५–२३ र २५–२३ ले हरायो ।

शनिबार नै पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि रोमाञ्चक जित हासिल गर्‍यो । पुलिसले गण्डकीलाई २५–२१, २५–१६, १३–२५, २४–२६ र १५–१० को सेटमा पराजित गरेको हो ।

पुरुषतर्फकै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पनि सैलुङ बागडुंगा स्पोर्ट्स क्लबलाई सोझो सेटमा हरायो । आर्मीले सैलुङलाई २५–८, २५–१३ र २५–१७ ले पराजित गरेको हो ।

शनिबारै महिलातर्फ पुलिसले गण्डकी प्रदेशलाई सोझो सेटमा हरायो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ ले पराजित गरेको हो ।

प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ सात टिम सहभागी छन् । महिला र पुरुष दुवैतर्फ विजेता, उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगिता यही असार ३० गतेसम्म सञ्चालन हुनेछ ।